
सिरहा । सिरहाको मिर्चैयामा शुक्रबार उद्योग वाणिज्य संघको चुनाव हुँदैछ ।
मिर्चैया नगरपालिका-६ कटारी चोकमा अवस्थित सामुदायिक विद्यालयमा मतदान हुँदैछ । संघको पन्ध्र सदस्यीय कार्यसमितिका लागि भरत महासेठ, राजकुमार साह र हरिकिशोर महतोको नेतृत्वमा ३ वटा प्यानल चुनावी प्रतिस्पर्धामा छन् । तर, चुनावमा मतदातालाई प्रभावित पार्न तीनै प्यानलले भोजको व्यवस्था गरेको छ ।
तीनै प्यानलले मतदान स्थल वरिपरि टेन्ट लगाएर भोजको व्यवस्था गरेका हुन् । मतदातालाई खुवाउँदै भेटिएका एक स्वयंसेवकले भोजमा शाकाहारी र मांसाहारी दुवै खाले भोजनको व्यवस्था रहेको बताए । मतदानका लागि कतिपय मतदाता सबेरै आएकाले उनीहरूका लागि खानाको व्यवस्था गरिएको तीनै प्यानलको दाबी छ । तर, मतदान केन्द्रमा भेटिएका कर्जन्हाका सुनिल महतोले यस्तो प्रवृत्तिले चुनावलाई झन् विकृत बनाउने बताए ।
'हाम्रो देशमा त्यसै चुनावमा निकै विकृति छ, आर्थिक रूपले कमजोर मान्छे सक्षम भए पनि चुनाव लड्न सक्दैनन् भन्ने भाष्य व्याप्त छ,' उनले कान्तिपुरसित भने, 'यसले चुनावलाई झन् विकृत बनाउँछ ।' अर्का मतदाता मिर्चैयाका रमेश साहले चुनावमा उम्मेदवारहरूले गरिरहेको भड्किलो गतिविधि देखेर उदेक लागेको बताए ।
'यो व्यापारीको चुनाव हो, उनीहरू आम मतदाताभन्दा बुझ्ने खालका हुन्छन्,' उनले भने, 'तर यस्तो भोजभत्तेर देखेर उदेक लाग्यो ।' चुनावमा मिर्चैया, कल्याणपुर र कर्जन्हा नगरपालिकाका गरी २१ सय ९ जना मतदाता छन् । शुक्रबार बेलुकी पाँच बजेसम्म मतदानको समय रहेको र यस अवधिभित्र मतदान नसकिए समय थप हुनसक्ने निर्वाचन अधिकृत प्रशान्त साहले बताउनुभयाे ।