फुटबलमा स्पेनको स्वर्णयुग, विश्व खेलकुदमा अहिले कसको दबदबा ?

श्रावण १२, २०८३ |अभय बस्नेत
फुटबलमा स्पेनको स्वर्णयुग, विश्व खेलकुदमा अहिले कसको दबदबा ?

काठमाडौं । फुटबलमा एउटा यस्तो इतिहास रचिएको छ, जसलाई आगामी कैयौं दशकसम्म कुनै पनि टोलीलाई तोड्न मुस्किल पर्नेछ । 

हालै अमेरिकामा सम्पन्न सन् २०२६ को पुरुष फिफा विश्वकपको उपाधि स्पेनले उचालेसँगै खेल जगतमा एउटा संयोग जुरेको छ । स्पेन अब फुटबलको इतिहासमा पुरुष र महिला दुवै विधाको विश्वकप उपाधि एकैसाथ उचाल्ने पहिलो राष्ट्र बनेको छ । 

स्पेन फुटबलको शिखरमा बसिरहँदा, विश्वका अन्य प्रमुख खेलमा अहिले कुन राष्ट्रको वर्चस्व छ त ?

सन् २०२६ को जुलाई १९ मा न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १-० ले पराजित गर्दै स्पेन पुरुष फुटबलको विश्व च्याम्पियन बनेको छ । जितसँगै स्पेन फुटबल इतिहासमा पुरुष र महिला दुवै विधाको फिफा विश्वकप उपाधि एकैसाथ आफ्नो पोल्टामा राख्ने पहिलो राष्ट्र बनेको छ । 

स्पेनको पुरुष टोलीले मेटलाइफ स्टेडियममा इतिहास रच्दा, यसअघि नै स्पेनिस महिला टोलीले सन् २०२३ मा अस्ट्रेलियाको सिड्नीमा इंग्ल्यान्डलाई हराएर विश्वविजेताको उपाधि हासिल गरिसकेको थियो । ६५ वर्षका लुइस डे ला फुएन्ते विश्वकप जित्ने सबैभन्दा बढी उमेरका प्रशिक्षक बनेका छन् भने फेरान टोरेसले अतिरिक्त समयको १०६औं मिनेटमा गरेको गोलले अर्जेन्टिनाको लगातार दोस्रो पटक उपाधि जित्ने सपना चकनाचुर पारे । 

फुटबलमा स्पेनको यो दबदबा चलिरहँदा, अब प्रश्न उठ्छ कि विश्वका अन्य प्रमुख खेलहरूमा अहिले कसको वर्चस्व छ त ?

क्रिकेटको कुरा गर्दा अस्ट्रेलिया अझै पनि एक शक्तिशाली क्रिकेटिङ नेसनको रुपमा उभिएको छ । अस्ट्रेलियाको पुरुष टोलीले सन् २०२३ मा आयोजकसमेत रहेको भारतलाई उसकै मैदानमा हराएर छैटौं पटक उपाधि जितेको थियो । यद्यपि, टी-२० मा भने भारतको उदय भएको छ । सन् २०२६ को मार्चमा अहमदाबादमा भएको फाइनलमा न्यूजिल्यान्डलाई ९६ रनले पाखा लगाउँदै भारतले तेस्रो पटक पुरुष टी-२० विश्वकपको उपाधि जितेर नयाँ कीर्तिमान कायम गर्‍यो ।

महिला क्रिकेटमा पनि वर्चस्वको लडाइँ रोचक छ । सन् २०२६ को जुलाई ५ मा लन्डनको लर्ड्स मैदानमा इंग्ल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियाली महिला टोलीले सातौं पटक टी-२० विश्वकपको उपाधि जितेको छ । यो अस्ट्रेलियाको १४औं समग्र विश्वकप उपाधि हो । तर, एकदिवसीय फर्म्याटमा भने भारतले इतिहास रचेको छ । 

सन् २०२५ को नोभेम्बरमा दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतीय महिला टोलीले पहिलो पटक एकदिवसीय विश्वकपको स्वाद चाखेको हो । इन्डोर खेलतर्फ लाग्ने हो भने भलिबलमा इटालीको दबदबा छ । सन् २०२५ मा फिलिपिन्समा भएको पुरुष भलिबल विश्व च्याम्पियनसिपको फाइनलमा बुल्गेरियालाई ३–१ ले हराउँदै इटालीले आफ्नो उपाधि रक्षा गरेको थियो । 

महिला भलिबलमा पनि इटालीले सन् २०२५ को सेप्टेम्बरमा थाइल्यान्डमा भएको फाइनलमा टर्कीलाई हराएर विश्व च्याम्पियनको बनेको छ । यो सफलतासँगै इटालीले सोभियत संघको कीर्तिमान बराबरी गर्दै पुरुष र महिला दुवै भलिबलको विश्व च्याम्पियन बन्ने गौरव प्राप्त गरेको छ ।

ह्यान्डबल र हक्कीमा पुराना शक्तिहरूकै बोलवाला देखिन्छ । पुरुष ह्यान्डबलमा डेनमार्कले सन् २०२५ मा लगातार चौथो पटक विश्वकप जितेर 'फोर-पिट' को सफलता हात पारेको छ । महिलातर्फ भने नर्वेले सन् २०२५ को डिसेम्बरमा जर्मनीलाई हराउँदै पाँचौं पटक विश्व च्याम्पियन बन्न सफल भयो । 

महिला हक्कीमा नेदरल्यान्ड्सको वर्चस्व छ । सन् २०२२ मा भएको १५औं संस्करणमा अर्जेन्टिनालाई ३–१ ले हराउँदै डच महिलाहरूले नवौं पटक विश्वकपको उपाधि जितेर आफूलाई उत्कृष्ट साबित गरेका छन् । पुरुष हक्कीमा भने जर्मनीले सन् २०२३ मा बेल्जियमलाई पेनाल्टी सुटआउटमा हराएर विश्व च्याम्पियनको बनेको छ ।

एथलेटिक्सको कुरा गर्दा टोकियो २०२५ को विश्व एथलेटिक्स च्याम्पियनसिपमा अमेरिकाले ४-४०० मिटर मिक्स्ड रिलेमा उपाधि रक्षा गर्दै एथलेटिक्समा आफ्नो शक्ति कायम राखेको छ । विश्व अस्ट्रेलिया क्रिकेटका तीनवटै विधामा प्रभावशाली देखिन्छ भने इटालीले भलिबलमा सफलता प्राप्त गरेको छ । 

तर, फुटबल जस्तो विश्वकै लोकप्रिय खेलमा स्पेनले पुरुष र महिला दुवै विधामा एकैपटक विश्व च्याम्पियन बनेर जुन इतिहास रचेको छ, त्यो खेलकुदको दुनियाँमा अत्यन्तै दुर्लभ छ । विगतमा इटालीले सन् १९३६ र १९३८ मा ओलम्पिक र विश्वकप लगातार जितेको भए तापनि फुटबलका दुवै मुख्य विधामा एउटै देशको यस्तो नियन्त्रण यसअघि कहिल्यै देखिएको थिएन । 

विश्व च्याम्पियन बन्नु कुनै पनि खेलाडी वा राष्ट्रका लागि गौरवको अन्तिम बिन्दु हो ।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।