काठमाडौं । चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै अस्पतालमा भएको हड्ताल र हडतालका कारण सेवाग्राहीले पाएको सास्तीको प्रसँगपछि पुन: चिकित्सकै प्रसंग, तर अलिक फरक खालको ।
यो प्रसंग हो चिकित्सक विदेशिएकोबारे । नेपालमा वार्षिक रुपमा जति चिकित्सक उत्पादन हुन्छन् त्योभन्दा बढी विदेशमा उच्च शिक्षा अध्ययनका लागि जानेको संख्या देखिएको छ । सरकारी तथ्यांकअनुसार सन् २०२५ मा एमबीबीएस पूरा गरेका २६ सय ३३ जनाले चिकित्सकीय दर्ता प्रमाणपत्र-लाइसेन्स लिएकामा २६ सय ८१ जनाले विदेशमा अध्ययनका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् ।
सेवा सुविधा र सुरक्षाको प्रत्याभूतिलगायतका कारण विदेश जानेको संख्या बढ्दै गएको छ । तीमध्ये कति फर्किन्छन्, सरकारी रेकर्डमा छैन । यति धेरै चिकित्सक विदेशिएपछि सेवाप्रवाहमै असर पर्ने चिन्ता व्यक्त गर्न थालिएको छ ।
विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि जाने डाक्टरको संख्या बर्सेनि बढ्दै गएको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०२५ मा विदेशमा अध्ययनका लागि २६ सय ८१ डाक्टरहरुले गुड स्ट्यान्डिङ सर्टिफिकेट अर्थात् असल चारित्रिक प्रमाणपत्र लिएका लिएका छन् ।
जसमा सबैभन्दा बढी अमेरिकाका लागि ५ सय ८७ र बेलायतका लागि ५ सय ५० जनाले लिएका छन् । २०२६ को सात महिनामा ११ सय जनाले यस्तो अनुमति पत्र लिइसकेका छन् । जबकि २०२५ मा लिइएको लाइसेन्स परीक्षामा एमबीबीएसतर्फ २६ सय ३३ जना पास भएका थिए ।
यो हिसाबले नेपालमा एमबीबीएस डाक्टर उत्पादन भन्दा विदेशिने डाक्टरको संख्या बढ्दो रहेको तथ्यांकले देखाएको छ । सन् २०२४ मा एमबीबीएस उत्तीर्ण गरेका २ हजार १२ जनाले लाइसेन्स परीक्षा पास गरेकामा विदेशमा उच्च शिक्षा अध्ययनका लागि अनुमति लिनेको संख्या २५ सय १८ थियो ।
काउन्सिलका अनुसार सन् २०२० देखि २०२५ सम्ममा १२ हजार ५ सय ४७ डाक्टरले विदेश अध्ययनका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् । यो अवधिमा एमबीबीएसतर्फ लाइसेन्स लिनेको संख्या ११ हजार ५ सय ८६ छ । विदेशमा सेवा सुविधाका साथै सुरक्षा र वृत्ति विकासको प्रत्याभूति हुने भएकाले डाक्टरहरु थप अध्ययनका नाममा विदेशिने क्रम बढ्दै गएको चिकित्सकहरु बताउँछन् । तर, विदेश गएकामध्ये कति फर्किए भन्ने रेकर्ड काउन्सिलसँग छैन ।
देशका दक्ष चिकित्सक जनशक्तिहरु विदेशिनु र नफर्किन्नुले चिकित्सकीय सेवामा समेत प्रभाव पर्ने सक्नेमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । हाल नेपालमा त्रिवि, पूर्वाञ्चल र काठमाडौं विश्वविद्यालय तथा सातवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित २८ वटा शिक्षण संस्थामा एमबीबीएस र बीडीएसको अध्ययन अध्यापन हुन्छ ।
ती शिक्षण संस्थाहरुबाट बर्सेनि एमबीबीएसमा २६ सय ३५ सिट र बीडीएसमा ६ सय २५ जनशक्ति उत्पादन भइरहेका हुन्छन् । देशमा चिकित्सक उत्पादन बढे पनि उनीहरूलाई स्वदेशमै टिकाउने वातावरण वनाउन नसके नागरिकले पाउने सेवामै गम्भीर प्रभाव पर्ने विज्ञहरुले औल्याएका छन् ।