
कपिलवस्तु । वाइल्डलाइफ फोटोग्राफर सुदीप केसी निसाना गजबले लगाउनुहुन्छ ।
लगन, संघर्ष र मिहिनेतले सिकेको सीपले तिखारिएकाले उहाँको निशाना सही ठाउँमै लाग्छ, अर्थात् निरन्तरको लगाव र परिश्रमले उहाँ अब्बल फोटोग्राफरको छबि बनाउनुभएको छ । त्यही भएर कतिपय विदेशी उहाँसँग फोटो खिच्ने कला सिक्न नेपाल आउँछन् ।
फरक यत्ति हो पहिले उहाँ एसएसआर बन्दुकबाट निसाना लगाएर संरक्षणका काम गर्नुहुन्छ । नेपाली सेनामा २६ वर्ष काम गरेर फूल कर्णेलबाट सेवानिवृत्त भएका केसी पहिले राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिने सेनाका गुल्म, गणमा काम गरेर संरक्षणकर्मी बनेका थिए भने अहिले चरा, वन्यजन्तुका उत्कृष्ट तस्बिर खिच्दै संरक्षणकर्मी बन्नुभएको छ ।
नेपाली सेनाका अवकासप्राप्त महासेनानी सुदीप केसी आजभोली चरा वन्यजन्तुको तस्बिर खिच्ने कहलिएका वाइल्डलाइफ फोटोग्राफर बन्नुभएको छ । सन् २०१९ देखि वाइल्डलाइफ फोटोग्राफीमा लागेका काठमाडौंको टोखा नगरपालिका–५, बसुन्धरा बस्ने ५८ वर्षे केसीले नेपालमा पाइने ५ सय ९५ प्रजातिका चराका फोटो खिच्नुभएको छ ।
उहाँले नेपालबाहेक मलेसिया, सिंगापुर र थाइल्यान्ड पुगेर ३ सय ७८ प्रजातिका चराका तस्बिर खिच्नुभएको छ । सात वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा रमाइरहेका केसी जुनसुकै मौसम र समयमा पनि उत्कृष्ट फोटो खिच्नसक्ने क्षमताका हुनुहुन्छ ।
सुदिप फोटोग्राफी गर्न निक्कै धैर्य हुनुहुन्छ । वर्षको ३-४ महिना फोटोग्राफीमा तराईदेखि हिमाल पुग्नुहुन्छ । फुर्सदको समययमा केसी काठमाडौं उपत्यकाका पोखरी, डाँडाकाँडा, वन पखेरा पुग्नुहुन्छ । उहाँले तराईदेखि हिमालसम्मका चराका तस्बिर क्यामरामा उतार्नुभएको छ ।
घाँसे मैदान, खेतबारी, कृषि भूमि, गृष्म र हिउँदे आगन्तुक र वनजंगलमा पाइने चराका तस्बिर क्यामरामा कैद गर्नुभएको छ । चरासँगै २५ प्रजातिका वन्यजन्तुका उत्कृष्ट तस्बिर पनि उहाँले कैद गर्नुभएको छ । बाघ, भालु, चितुवा, गैंडा, हात्ती, जरायो, रतुवा, लगुना, कृष्णसार र चौकालगायतका चित्ताकर्षक तस्बिर पनि उहाँको क्यामरामा कैद छन् ।
केसीले खिचेको वन्यजन्तुका तस्बिर सामाजिक सञ्जालमार्फत हेरेर आर्कषित भई कतिपय विदेशी वाइल्डलाईफ फोटोग्राफर उहाँलाई खोज्दै नेपाल आइपुग्छन् । दुई महिना अघिमात्र ४ जना जापानी आएर उहाँसँग नेपालका चरा वन्यजन्तुका चित्ताकर्षक फोटो खिचेर फर्किए ।
फोटो खिच्ने कला र सीपले तिखारिँदै केसी अब्बल वाइल्डलाईफ फोटोग्राफर भएपछि दुई वर्ष यता एसियन वाइल्डलाईफ फोटोग्राफी क्लब (एडब्लूपीसी)को नेपाल कन्ट्री रिप्रजेन्टेटिभमा छनोट हुनुभएको छ । क्लबमार्फत बर्षेनि सिंगापुर, मलेसिया, भारत र श्रीलंकाका वाइल्डलाइफ फोटोग्राफर नेपाल आउँछन् ।
विदेशबाट आउने वाइल्डलाइफ फोटोग्राफरले नेपालमा राम्रो तस्बिर खिचेर जाँदा विदेशमा नेपालको पर्यापर्यटन प्रवर्द्धन भइरहेको छ । केसीले खिचेका चरा, वन्यजन्तुका सुन्दर तस्बिर राष्ट्रिय प्रकृति संरक्षण कोष, पन्छी संरक्षण संघ र नेपाल पर्यटन बोर्डलगायतका निकायबाट प्रकाशित क्यालेन्डर, ब्रोसर र पुस्तकमा प्रकाशित छन् ।
त्यस्तै उहाँले खिचेका धेरै फोटो विदेशका पत्रिका, जर्नल, क्यालेन्डर र पुस्तक प्रकाशित छन् । २०४७ सालमा सेकेन्ड लेफ्टिनेन्टबाट सेवा नेपाली सेनामा प्रवेश गरेपछि उहाँको पहिलो पोष्टिङ चितवन राष्ट्रिय निकुञ्जमा भयो । चितवनमा दुई वर्ष काम गरेपछि दरबारमा सुरक्षा अधिकृत भएर करिब १२ वर्ष काम गरेको उहाँसँग अनुभव छ ।
२०५९ फेरि बर्दिया निकुञ्जमा सरुवा भयो । दुई वर्ष मेजर भएर कमान्ड सम्हालेपछि सरुवा भएर हुँदै २०७० मा कर्णेल भएर फेरि बर्दिया निकुञ्ज सुरक्षार्थ सेनाको प्रमुख भएर फर्किनुभयो । २६ वर्षको सेवा अवधिमा केसीले १४ वर्षभन्दा बढी निकुञ्ज, मध्यवर्ती र संरक्षित क्षेत्रमा काम गर्नुभयो ।
चरा र प्रकृतितिर रुचि हुँदा रमाउँदै राम्रो काम गर्न थालेपछि हेडक्वार्टरले पनि विश्वास गर्दै निकुञ्जकै सुरक्षाका नेतृत्व गरेर पठाउने गरेको उहाँ बताउनुहुन्छ ।