काठमाडौं । धमाधम सहकारी संस्थाहरू डुब्दै गएपछि विगत ४-५ वर्षदेखि धेरै बचतकर्ताको होस उडेको छ ।
पैसा फिर्ता पाउने आसमा उनीहरूले कैयौँ आन्दोलन गरेका छन्, सरकार गुहारेका छन्, पैदलयात्रा गरेका छन्, र के के चाहिँ गरेका छैनन् । तर, आश्वासन पाए, पैसा पाएनन् । उनीहरू फेरि एकपटक काठमाडौँमा मार्चपास गरिरहेका छन् ।
यता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भने १० हजार रुपैयाँभन्दा कम बचत गर्नेहरूको पैसा बाँडेर करिब करिब सकेको बताएको छ । तर, त्योभन्दा बढी पैसा जम्मा गर्नेहरूको पैसा कहिलेसम्म फिर्ता आउँछ, ठ्याक्कै टुंगो छैन ।
सोमबार दिनभर सहकारीपीडितहरूले काठमाडौँमा प्रदर्शन गरे । करिब एक हजार पीडित बचतकर्ता रकम फिर्ताको मागसहित माइतीघर मण्डलबाट मार्चपास गर्दै र नारा लगाउँदै बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय पुगे ।
त्यहाँबाट फेरि नारा लगाउँदै ललितपुरको पुलचोकस्थित सहकारी प्राधिकरणसम्म मार्चपास गरे । प्रदर्शनमा सहभागीहरूको पीडा फरक फरक भए पनि माग एउटै छ- साना बचतकर्ता मात्र होइन दामासाहीले सबैको पैसा फिर्ता गरियोस् ।
हुन त सहकारीपीडितले पैसा फिर्ता नपाएका होइनन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठ र असारमा मात्रै २ हजार ७९ बचतकर्ताको १ करोड १५ लाख रुपैयाँ फिर्ता गरिसकेको छ । तर, यो रकम पाउनेहरू साना बचतकर्ता मात्र हुन् अर्थात् १० हजार रुपैयाँभन्दा कम बचत गर्नेहरू ।
यता समितिका अनुसार भने अब १० हजारभन्दा कम बचत भएका पीडित निकै कम छन् । त्यसपछि १० हजारभन्दा माथि बचत गर्ने अन्य पीडितलाई रकम उपलब्ध गराउने तयारी छ । १० हजारदेखि ५ लाखसम्म बचत गर्नेहरू ३६ हजार ५ सय २१ बचतकर्ता छन् ।
समितिका अनुसार कार्यविधिले तोकेअनुसार सबैले पाउँछन् । हालसम्म समितिले ११ हजार बचतकर्ताको करिब ७१ करोड रकम फिर्ता गरेको जनाएको छ । समितिसँग ४१ करोड पनि जम्मा छ । जेठ र असारमा मात्रै समितिले ४ करोड रुपैयाँ असुली गरेको थियो ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बुधबारका लागि पीडितका प्रतिनिधिहरूसँग छलफल आह्वान गरेको छ । कानुन र कार्यविधिका समस्याबारे छलफल गरेर त्यसको निर्णय भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेस गर्ने तयारी भएको छ ।