१ अर्ब ४५ करोडको ठेक्का सम्झौता भएको सडक योजना पाँच महिना देखि ठप्प, स्थानीय चिन्तित

कार्तिक ७, २०८२ |शमशेरविक्रम जीसी
१ अर्ब ४५ करोडको ठेक्का सम्झौता भएको सडक योजना पाँच महिना देखि ठप्प, स्थानीय चिन्तित

प्यूठान । सरकारले समयमै काम सम्पन्न नगर्ने आयोजनाको ठेक्का तोड्ने चेतावनी दिइरहँदा पनि मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीदेखि प्यूठानको मच्छी खण्डको निर्माणले गति लिन सकेको छैन । 

सडक निर्माणका लागि तोकिएको निर्धारित मिति सकिँदासम्म २५ प्रतिशत मात्रै काम भएको छ । गुल्मीको सिमलटारीदेखि प्यूठानको मच्छीसम्म मदन भण्डारी राजमार्ग ३१.८ किलोमिटर सडक निर्माण गर्न २०७९ साल कात्तिकमा ठेक्का लाग्यो । तर कामले गति नलिँदा यो सडकमा यात्रुले सास्ती खेप्न बाध्य छन् । 

२०८२ साउन ५ गते निर्माण सम्पन्न गर्नेगरी सम्झौता भए पनि म्याद सकिएको २ महिना बितिसक्दा प्रगति केबल २५ प्रतिशत छ । निर्माण व्यवसायीले कछुवा गतिमा काम गर्दा आयोजनानै अलपत्र पर्ने होकी भन्ने चिन्तामा स्थानीय छन् ।

गुल्मीको सिमलटारीदेखि प्यूठान, गुल्मी र अर्घाखााचीको सीमा हुँदै प्यूठानको मच्छीसम्म सडक स्तरोन्नतीसहित कालोपत्रे गर्नेगरी श्रेष्ठ/सक्षम जेभीले २०७९ कात्तिकमा ठेक्का सम्झौता गरेको थियो । १ अर्ब ४५ करोडको लागत सम्झौता भएको योजनाको काम पछिल्लो ५ महिनादेखि ठप्प छ । पटकपटक ताकेता गरे पनि निर्माण व्यवसायीले बेवास्ता गरेको स्थानीय सरकारका जनप्रतिनिधि बताउँछ ।

हिउँदमा धुलो र बर्खामा हिलो र पहिरोले यो सडकमा समस्या हुने गरेको छ । निर्माण व्यवसायीले सम्झौता मितिमा काम सम्पन्न नभएपछि म्याद थपका लागि कार्यालयमार्फत विभागमा आग्रह गरेको छ । तर हालसम्म सडकको म्याद थप भएको छैन ।

कार्यालयले कामलाई गति दिन भन्दै निर्माण व्यवसायीलाई तीन पटक पत्र लेखिसकेको छ । निर्माण व्यवसायीले हालसम्म ३५ करोड रूपैयाँ भुक्तानी लगिसकेको कार्यालयको भनाइ छ ।


Image

शमशेरविक्रम जीसी

जीसी कान्तिपुर टेलिभिजनका प्युठान संवाददाता हुन् ।