
काठमाडौं । व्यापार व्यवसायका लागि लिएको ऋण तिर्न नसकेका कारण बैंकको कालोसूचीमा पर्नेको संख्या झन्डै दोब्बरले वृद्धि भएको छ ।
सरकारले कर्जा बढाउने भनेर विभिन्न निजी क्षेत्रका संघसंस्थासँग छलफल गरिरहेका बेलामा यसअघि कर्जा लिनेहरुले समयमै चुक्ता गर्न नसक्दा भटाभट समस्यामा पर्न थालेका छन् ।
पछिल्लो समय बैंकको कालोसूचीमा पर्नेको संख्या निरन्तर बढिरहेको छ । कर्जा सूचना केन्द्रका अनुसार खातामा पैसा नभइ चेक काटेका कारण र बैंकको ब्याज तथा किस्ता नियमित गर्न नसक्दा बैंकिङ कारोबार गर्नै नपाउने गरी १ लाख ७० हजार ७ सय ९३ जना कालोसूचीमा परेका छन् ।
तीमध्ये ६० हजार ४ सय ४७ जना त यो वर्ष नै यो सूचीमा परेका हुन् । र, यीमध्ये पनि ३४ हजार ५ सय पाँच जना बैंकको ब्याज तथा किस्ता समयमै तिर्न नसकेर कालोसूचीमा परेकाहरु हुन् । यो संख्या अघिल्लो वर्षमा १८ हजार ८ सय थियो । यसले पनि कालोसूचीमा पर्नेको संख्या बढेको देखाएको छ ।
सरकार तथा केन्द्रीय बैंकले लिएका नीतिले पनि अर्थतन्त्र सुधार हुन नसक्दा कालोसूचीमा पर्नेको संख्या निरन्तर बढेको विज्ञहरु बताउँछन् । सरकारले थप कर्जा विस्तार गर्ने भनेका बेलामा यसअघि लिएको कर्जा तिर्न नसकेका ऋणी समस्यामा परेकोले अर्थतन्त्र पुनरुत्थान तथा नयाँ रणनीतिमार्फत कालोसूचीमा पर्नेहको संख्या कम गर्नुपर्ने विज्ञको भनाइ छ ।
कर्जा सूचनाका अधिकारीहरुका अनुसार अहिले यसरी ऋण तिर्न नसेकर कालोसूचीमा पर्नेमध्ये ६० प्रतिशत लघुवित्तका ऋणीहरु छन् । गत वर्षसम्म ऋण तिर्न नसेकर कालोसूचीमा पर्नेहरुमध्ये ४० प्रतिशत मात्रै लघुवित्तका ऋणी थिए । अर्थात् साना व्यवसाय गर्नेहरु समस्यामा पर्दा लघुवित्तका ऋणी कालोसूचीमा पर्नेहरु बढेका हुन् ।
अर्कोतर्फ ऋण तिर्न पर्दैन भन्ने गलत भाष्यका कारण पनि केहीले ऋण नतिरी बसेका छन् । कोरोना महामारीपछि थलिएको अर्थतन्त्र अहिलेसम्म उकासिएको छैन । त्यसैले राष्ट्र बैंकले कुनै एक क्षेत्रलाई मात्रै नभइ वास्तविक उद्यमी तथा व्यवसायीले इमान्दार भएर काम गर्दा पनि कालोसूचीमा परेको हो भने अब त्यस्ताको ऋण पुनर्संरचना गर्ने राज्यले नीति लिनुपर्ने निजी क्षेत्रको भनाइ छ ।
अर्थतन्त्रमा समस्या भएकाले नै अहिले घरजग्गा व्यवसायदेखि सेयरबजार कारोबारमा सुस्तता छाएको छ । जसका कारण पनि धेरै ऋणीले समयमा कर्जा तिर्न सकेका छैनन् । त्यसैले राज्यले कालोसूचीमा अनविज्ञ भएर यस्तो संख्या बढाउँदै जाने भन्दा पनि उद्यमी व्यवसायीका समस्या सुनेर अहिलेको समस्या सम्बोधन गर्दै जानेतर्फ ध्यान दिनुपर्छ ।