विदेश जाने मोह त्याग्दै गाउँमै स्वरोजगार बन्दै युवा

श्रावण २७, २०८३ |अमर क्षितिज भण्डारी
विदेश जाने मोह त्याग्दै गाउँमै स्वरोजगार बन्दै युवा

दाङ । अहिलेका धेरै युवालाई लाग्छ पैसा कमाउन विदेश नै जानुपर्छ । 

दैनिक औसत २५ सय युवा बाहिरिने तथ्याङ्कले यसलाई पुष्टि गर्छ । तर, दाङमा त्यस्ता युवाहरू पनि छन् जसले विदेश मोह त्यागेर आफ्नै गाउँघरमै विभिन्न पेसा व्यवसाय गरिरहेका छन्। उद्यमशीलताबाट उनीहरूले धेरैलाई रोजगारी दिनसमेत सफल भएका छन् ।

अध्ययनका लागि अस्ट्रेलिया पुगेका दाङको घोराही ९ अस्पाराका समीर अधिकारी अध्ययन सकेर अस्ट्रेलियामै तीन वर्ष रोजगारी गर्नुभयो । कमाइ राम्रो थियो तर किन किन समीरलाई स्वदेशको मायाले तान्यो । दुई वर्षअघि स्वदेश फर्किनुभएका समीरले गाउँमै पेपर कप तथा प्लेट उत्पादन उद्योग सञ्चालन गर्नु भएको छ । 

३५ लाख रुपैयाँ लगानीमा सुरु गरेको उद्योगमा अहिले लगानी बढाएर ७० लाख रुपैयाँ पुर्‍याउनुभएको छ । बिहान सबेरैदेखि साँझ अबेरसम्म आफ्नो कप उद्योगमा मेसीन चलाइरहने समीरको पेपर कप तथा प्लेट उद्योगबाट अहिले मासिक १० लाख रुपैयाँसम्मका कप तथा प्लेट बिक्री हुने गरेको छ भने आम्दानीका हिसाबले आफू सन्तुष्ट रहेको समीरको भनाइ छ ।

चार वर्षको मलेसियाको बसाइँ त्यागेर स्वदेश फर्किएका घोराही ९ अस्पाराकै हरपल केसीले पनि विदेशबाट फर्किएर गाउँमै कुखुरा पालन गर्नु भएको छ । १ हजार ५ सय अण्डा उत्पादन गर्ने लेयर्स जातका अण्डा दिने कुखुरा विगत १० वर्षदेखि पाल्दै आउनु भएका हरपल केसीका खोरमा अहिले कुखुराको संख्या तीन हजार पुगेको छ भने गाउँमै परिवारसँग बसेर रमाउँदै मासिक ७०/८० हजार कमाइले हरपल खुसी हुनुहुन्छ ।

समीर र हरपल जस्तै प्यूठानबाट वैदेशिक रोजगारीका लागि जापान पुग्नु भएका होमबहादुर केसीले झन्डै ९ वर्ष जापानमा बिताउनु भयो । युवाको जोस र श्रम सधैभरी विदेशी भूमिमा बगाउनुभन्दा आफ्नै देशमा फर्किएर केही गर्नु पर्छ भन्ने सोचका साथ ६ वर्षअघि नेपाल फर्किनु भएका होमबहादुरले दाङमा एक सरकारी विद्यालयको ९ बिघा जग्गा भाडामा लिएर घोराही १२ मा कृषि कर्म सञ्चालन गरिरहनु भएको छ ।

पाँच बिघामा लगाएको केराले उत्पादन दिन थालिसकेको छ भने तीनवटा खोरमा कुखुरा पालन तथा बाख्रा पालन चलिरहेको छ । तीन जनालाई नियमित रोजगारी दिँदै आफूपनि स्वरोजगार बन्नु भएका होमबहादुर स्वदेशमै केही गर्न पाउँदा र अरुहरुलाई रोजगारी दिन पाउँदा निकै उत्साहित हुनुहुन्छ । 

होमबहादुर विदेशको मोह त्यागेर स्वदेशमै उद्यम गर्न चाहाने युवाहरुका लागि सरकारले उत्पादित वस्तुको बजारीकरणमा ध्यान दिन आग्रह गर्नुहुन्छ । दृढ इच्छा शक्ति, पेसा प्रतिको लगनशिलता र व्यवसायिक इमान्दारिता बोकेका युवा उद्यमी समीर, हरपल र होमबहादुर प्रतिनिधि पात्र हुन् । 

उन्नति प्रगतिका लागि विदेशमै जानु पर्छ भन्ने मानसिकता बोकेका युवा पंक्तिमा यी युवा उद्यमीहरुले नेपालमै पनि केही गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेका छन् ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।