
पाल्पा/रामेछाप । पाल्पा र रामेछापका युवा उद्यमीहरू विभिन्न आयमूलक काम गरेर गाउँमै स्वरोजगार बनेका छन् ।
रामेछापका उद्यमीहरू नेपाली हातेकागज उत्पादन गर्दै अन्तर्राष्ट्रिय बजारसम्म पुगिरहेका छन् । पाल्पामा बाख्रापालन, बंगुरपालन, कुखुरापालन, तरकारी खेतीलगायतका कामबाट युवाहरू स्वरोजगार बनेका छन् । केही युवा वैदेशिक रोजगारबाट फर्केर गाउँमै आयमूलक काम गरिरहेका छन् ।
३२ महिना विदेशमा बसेर दुई वर्षअघि नेपाल फर्किनुभएका पाल्पाको रामपुर नगरपालिका–४, छतिवनडाँडाका मनबहादुर रानाको खोरमा अहिले ६० वटा बाख्रा छन् । एक वर्षभित्र कम्तीमा एक सय बाख्रा पुर्याउने लक्ष्यअनुसार उहाँ नयाँ खोर पनि बनाइरहनुभएको छ ।
गत वर्ष बाख्रा बेचेर पाँच लाख आम्दानी गर्नुभयो । परिवारसँगै बसेर राम्रो आम्दानी भइरहेकाले अब फेरि विदेश जाने सोच नआएको उहाँ बताउनुहुन्छ । विदेशी भूमिमा पैसा भए पनि दुःख धरै हुने उहाँको अनुभव छ ।
पूर्वखोला गाउँपालिका ५ वीरकोटका रोशन ठाडा मगर स्नातक सकेर अहिले गाउँमै बंगुरपालन गर्दै आउनुभएको छ । १० वटा माउबाट व्यवसाय सुरु गर्नुभएका रोशनले अरु १० वटा बंगुर अट्ने खोर थपिरहनुभएको छ । अहिलेसम्म २५ लाख लगानी भइसकेको छ ।
तानसेन र रामपुर नगरपालिका, निस्दी, रम्भा, बगनासकाली, माथागढी, रैनादेवीछहरा, रिब्दीकोट गाउँपालिका युवाले कुखुरापालन, तरकारी खेती, बाख्रापालन, अकबरे खुर्सानी खेती, मौरीपालन व्यवसाय गरेर गाउँमै बसेर वार्षिक ५ लाखभन्दा धेरै पैसा बचत गर्नसक्ने भएका छन् ।
स्थानीय तहले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत युवालाई ब्याज अनुदान, कृषि औजार, बीउबिजनमा अनुदान दिएका छन् । संघीय सरकारअन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले पनि कृषि तथा पशुपन्छी उद्यमशीलताका लागि कृषि उद्यमीहरूलाई सहयोग गर्दै आएको छ ।
युवाले व्यवसायिक तरकारी खेती, मौरीपालन, बंगुरपालन, बाख्रापालन, भैँसीपालन, डेरी तथा पोल्ट्री व्यवसाय गर्दै आएका छन् । युवा कृषि उद्यमीहरूको मिहिनेतले स्थानीय उत्पादनबाट बजार माग धान्नसमेत सहयोग पुगेको छ ।
उता रामेछापका मेला-महोत्सवमा भेटिनुहुन्छ गोकुलगंगा गाउँपालिका–४ बेतालीका युवा पुष्पराम घिमिरे । उहाँको उद्देश्य सामान बेच्नुमात्रै हुँदैन बरु गाउँमै उत्पादन भएको नेपाली हातेकागजको कथा पनि सुनाइरहेको भेटिनुुहुन्छ । जंगलको लोक्ता, अर्गेली, बाबियो, खर र परालबाट बनेका सामग्री अहिले अमेरिका, चीनलगायतका देशमा पनि पुगिरहेका छन् ।
२०७६ सालमा बुबाले सुरु गरेको पुष्पाञ्जली नेपाली हातेकागज उद्योग अहिले गाउँकै चिनारी बनेको छ । स्थानीयस्तरमै पाइने कच्चा पदार्थबाट सुरु हुने उत्पादन प्रक्रिया अन्तिममा डायरी, फाइल, गिफ्ट बक्स, झोला, सजावटका सामग्रीलगायतका आकर्षक सामग्रीमा परिणत हुन्छ ।
एक लाख रुपैयाँबाट सुरु भएको उद्योगमा अहिले ४० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । उद्योगले आठ जनालाई रोजगारी दिएको छ । वार्षिक ५० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको उद्योगले ३० देखि ४० प्रतिशतसम्म नाफा कमाउँछ ।
मन्थली नगरपालिका–१ भैशेश्वरकी लक्ष्मी श्रेष्ठ जिल्लाका अधिकांश मेला–महोत्सवमा आफ्ना ढाकाका सामग्री लिएर पुग्नुहुन्छ । मन्थलीमा २०६४ सालमा खुलेको शुभलक्ष्मी ढाका कपडा तथा प्रशिक्षण केन्द्रमा उत्पादन भएका ढाकाका सामग्री बिक्री गर्न उहाँले कुनै पनि मेला–महोत्सव छुटाउनुहुन्न ।
कुनै समय सात जनालाई रोजगारी दिएको थियो यो केन्द्रले । तर, कोरोना संक्रमणपछि भने उहाँ बजार अभाव झेलिरहनुभएको छ । खाँडादेवी गाउँपालिका–४ की निर्मला श्रेष्ठ आफ्नै फार्ममा बाख्राको स्याहार–सुसारमा व्यस्त भेटिनुहुन्छ । बाख्रापालन उहाँको परिवारको आम्दानीको मुख्य स्रोत हो ।
बाबुबाजेको पेसालाई आधुनिक बनाउँदै उहाँले व्यवस्थित खोर निर्माण गर्नुभएको छ । अहिले उहाँको खोरमा खरी, बोयर र जमुनापारी जातका ५० भन्दा बढी बाख्रा छन् । सीप, परिश्रम र स्थानीय स्रोतको सदुपयोगले गाउँमै सम्भावना सिर्जना गर्न सकिने उदाहरण यी उद्यमीहरूले प्रस्तुत गरेका छन्।
चुनौती बाँकी भए पनि बजार प्रवर्द्धन र सरकारी सहयोग विस्तार हुन सके यसले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण योगदान दिनसक्ने देखिन्छ ।