काठमाडौं । दशैंका बेला देशका विभिन्न राजमार्ग अवरुद्ध हुँदा अहिले त्रिभुवन विमानस्थलमा यात्रुको चाप बढेको छ । तर हवाई सेवा प्रदायक कम्पनीहरुले भने यही मौका छोपेर यात्रुलाई महंगो मूल्यका टिकट बेचिरहेका छन् । वायुसेवा संचालक संघले कम मूल्यमा नै टिकट विक्री गर्न सरकारसँग प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा बेवास्ता गरेको छ ।
राजमार्गहरु पटक–पटक अवरुद्ध हुँदा काठमाडौंमा रहेका र विदेशबाट फर्किएकाहरु थातथलो फर्कन आन्तरिक उडानको सहारा लिन खोजिरहेका छन् । तर समस्यामा परेका यात्रुसँग विमान कम्पनीहरुले चर्को शुल्क असुलिरहेका छन् । नेपाल नागरिक उडडयन प्राधिकरण ऐन २०५३ र नियमावली २०५८ ले विमान कम्पनीहरुलाई बजार माग हेरेर अधिकतम र न्यूनतम मुल्यमा टिकट विक्री गर्ने छुट दिएको छ । यसै कानुनको फाइदा उठाउँदै हवाई सेवा प्रदायक कम्पनीहरुले सबै टिकट अधिकतम मूल्यमा मात्र विक्री गरेका छन् । यात्रुको गुनासो बढेपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले न्यूनतम मूल्यका टिकट पनि विक्री गर्न पुन निर्देशन दिएको छ ।
अहिले ३ वटा हवाई सेवा प्रदायक कम्पनीहरुले ३० वटा जहाजबाट सुगमका लागि उडान गर्दै आएका छन् । जसअनुसार त्रिभुवन विमानस्थलबाट दैनिक साढे तीन सय आन्तरिक उडान हुने गरेका छन् । राजमार्ग अवरोध हुँदा र चाडबाडका बेला विमानस्थलमा यात्रुको चाप बढ्ने गर्छ । तर यात्रुको बाध्यताको फाइदा उठाउँदै हवाई सेवा प्रदायकहरुले जथाभावी मूल्य तोक्दासमेत नियमनकारी निकाय नागरिक उड्ड्न प्राधिकरणले कडाइ गर्न सकेको छैन ।