
धनुषा । मल अभाव हुन नदिने दाबी गर्दै आएको संघ सरकारले धान लगाउने सिजन आइसके पनि सहज आपूर्ति गर्न सकेको छैन।
माग र आपूर्तिमा निकै अन्तर रहेकाले यस वर्ष पनि किसानको समस्या ज्यूँका त्यूँ छ। सहकारीमार्फत उपलब्ध गराइएको थोरै मलसमेत पहुँचवालाले मात्र पाउने र कालोबजारी हुनाले किसान झनै मर्कामा परेका छन् ।
खेतीका लागि सबैभन्दा उपयुक्त मधेश प्रदेशमा यतिबेला चैते धानको सिजन छ। सिँचाइ सुविधा पुगेको खेतमा लहलह धान झुलेको देखिन्छ। कृषि विकास निर्देशनालयका अनुसार सबभन्दा बढी बारामा १८ हजार हेक्टर र सबभन्दा कम सर्लाहीमा ५ सय १५ हेक्टरमा चैते धान खेती हुँदै आएको छ ।
मधेश प्रदेशको आठै जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा प्रति हेक्टर ४ दशमलव ७४ मेट्रिक टनको दरले २६ हजार ७ सय ९६ हेक्टरमा १ लाख २६ हजार ८ सय ६१ मेट्रिक टन चैते धान उत्पादन भएको थियो भने सो क्रम बढेर प्रति हेक्टर ५ मेट्रिक टनको दरले २०८१/८२ मा २८ हजार २ सय ७२ हेक्टरमा १ लाख ४२ हजार ८ सय ७२ मेट्रिक टन उत्पादन भयो ।
चैते धानको उत्पादन क्रमिकरूपमा बढ्दो छ भने मलखाद र सिँचाइ अभावमा बर्खे धानको उत्पादन भने घट्दो छ । सुक्खा खडेरी र मल अभावमा यस वर्ष त उत्पादन झन् घटने अनुमान छ । मधेशमा युरिया ८४ हजार ५ सय ५० मेट्रिक टन र ३२ हजार ५ सय ४८ मेट्रिक टन डीएपीको माग छ ।
तर, धान रोपाइँको समय नजिकिए पनि बफर स्टकबाट २५ सय मेट्रिक टन थप डीएपी मगाएर ९ हजार १ सय १० मेट्रिक टन डीएपी र ७ हजार ३ सय २८ मेट्रिक टन मात्र युरिया वितरणका लागि सहकारीहरूमा पठाइएको छ ।
कृषि कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले मधेशका आठै जिल्लाका १ सय ३६ पालिकाको १२ सय ७१ वडामा विभिन्न सहकारी र संघ/संस्थामार्फत किसान माझ मल वितरण गर्दै आएको छ । पश्चिम एसियाको तनावका कारण समयमा मल आपूर्ति हुन नसकेको र सुरक्षाकर्मीले भारतीय सिमानाकामा गरेको कडाइका कारण यस वर्ष किसानहरूलाई झनै समस्याको सामना गर्नुपर्ने देखिन्छ ।
१० प्रतिशत बफर स्टकबाहेक विदेशबाट आयात हुँदै आएको कुलमध्ये मधेशमा २७ दशमलव ५० युरिया र २८ प्रतिशत डीएपी आपूर्ति हुँदैआएको छ। मधेश प्रदेशमा कुल खेतीयोग्य ५ लाख ४२ हजार ५ सय ८१ हेक्टरमध्ये ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा धान लगाइन्छ।
सुक्खा-खडेरी, मल र सिँचाइ अभावमा धान उत्पादन घट्दै गएको छ। कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा १२ लाख ९६ हजार ९ सय ७, २०८१/८२ मा १४ लाख ४१ हजार ४ सय ७३ र २०८२/८३ मा १२ लाख ९६ हजार १८ मेट्रिक टन धान उत्पादन भएको थियो।