
काठमाडौँ । झट्ट हेर्दा हुर्किरहेको सानोतिनो वन नै हो कि झैँ लाग्छ- सर्लाहीको हरिवन नगरपालिका १० सुखेपोखरीमा रहेको चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस परिसर । यहाँ क्याम्पसकै कृषि वन समूहले करिब साढे ११ सय बोटबिरुवा वृक्षारोपण गरेको छ । यी बोटबिरुवा करिब ४ फिट अग्ला भइसकेका छन् ।
आफैँले वृक्षारोपण गरेकाले क्याम्पसलाई यी बोटबिरुवा कहिले हुर्केलान् भन्ने प्रतीक्षा त छँदै छ तर त्यो भन्दा ठूलो प्रतीक्षामा छन्- त्यहाँ अध्ययनरत विद्यार्थीहरू । जसको कारण हो- बोटबिरुवाबाट जेजति आम्दानी हुन्छ, त्यसको १० प्रतिशत हरिवन नगरपालिकाले पाउँछ भने बाँकी ९० प्रतिशत क्याम्पसका विद्यार्थीले पाउछन् । कृषि वन समूह र नगरपालिकाको सम्झौतामै क्याम्पसले विद्यार्थीको हकहितमा खर्च गर्नुपर्ने भनिएको छ ।
क्याम्पस पढ्ने विद्यार्थी लाभान्वित हुने यो कस्तो कार्यक्रम हो त ?

यो नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयअन्तर्गत रेड कार्यान्वयन केन्द्रमार्फत सञ्चालित समृद्धिका लागि वन परियोजना हो । जुन मधेश र लुम्बिनी गरी दुवै प्रदेशमा लागू भई कार्यान्वयन भइरहेको छ । मधेश प्रदेशमा परियोजना सञ्चालित २५ वटा पालिकामध्ये हरिवन नगरपालिकाको सुखेपोखरीको ५.५ हेक्टर क्षेत्रफलमा सार्वजनिक वृक्षारोपण गरिएको थियो । यसले एकातिर सुखेपोखरीको मुहार फेरिन थालेको छ भने अर्कोतिर विद्यार्थी लाभान्वित हुने भएका छन् ।
चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा हाल १२ सय ९७ विद्यार्थी अध्यनरत छन् । समृद्धिका लागि वन परियोजना कार्यक्रम सफल हुनासाथ यी सबै विद्यार्थी लाभान्वित हुन्छन् । क्याम्पसले सीधै नभए पनि वनसँग जोडेर छात्रवृत्ति कार्यक्रम गर्ने योजना बनाएको छ । साथै अक्षयकोष स्थापना गरेर वनसम्बन्धित विभिन्न प्रतियोगिता आयोजना गरेर पुरस्कार वितरण गर्ने पनि क्याम्पसको योजना छ ।
हरिवन नगरपालिकालाई आर्थिक वर्ष २०८१/८२ मा समृद्धिका लागि वन परियोजनातर्फ ८० लाख रुपैयाँ संघीय सरकारवाट ससर्त अनुदानको रूपमा उपलब्ध गराइएको थियो । यसमध्ये वृक्षारोपणमा ३८ लाख ५७ हजार, प्राविधिक तालिम र संस्थागत क्षमता वृद्धिमा १० लाख ८८ हजार र परियोजनाको सुशासन, अनुगमन र सिकाइमा ९९ हजार रुपैयाँ खर्च भएको छ ।
क्याम्पसको कृषि वन समूहले करिब ५ सय आँप, १ सय लिची, १ सय जामुन, १ सय ५० टिक, महगनी ३०० र सतिसालको २५ वटा बोट लगाएको छ ।
चतुर्भुजेश्वर क्याम्पसका प्रमुख हरि मैनाली सामूहिक वृक्षारोपणबाट विद्यार्थीको हकहितमा काम गर्नेमा आशावादी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “छिमेकी शिक्षण संस्थाहरूले पनि यो खालको अभ्यास गरेका छन् । आम्दानी गरेका छन् । हामीले पनि यही देखेर विभिन्न निकायको सहयोगमा कार्यक्रम अघि बढाएका हौँ । अहिले नै आम्दानी त भएको छैन । भएपछि चाहिँ विद्यार्थीलाई सहयोग पुग्ने काम गर्नेमा हामी आशावादी छौँ ।”


साथै परियोजनाले विद्यालय स्तरमा वन वातावरणसम्बन्धी सचेतना अभिवृद्धि गर्न विद्यालय अनुशिक्षण कार्यक्रम विभिन्न पालिकामार्फत विद्यालय तथा क्यापसहरूमा सञ्चालन गर्दे आएको छ जसको फलस्वरूप विद्यार्थीहरूले पनि वन वातावरणबारे चासो दिन थालेका छन् ।
परियोजना लागू हुनुअघि क्याम्पसको उक्त जग्गा बाँझो थियो । २०८२ असार १५ गते वृक्षारोपण भएपछि यो खाली जमिन प्रयोगमा त आयो नै क्याम्पसले भाडाबापत आम्दानी पनि गरिरहेको छ । एक स्थानीयले ५.५ हेक्टर जग्गाको वार्षिक डेढ लाख त तिर्छन् नै बिरुवाको स्याहार सुसार पनि गर्दै आएका छन् । बिरुवा लगाएर खाली रहेको जमिनमा खेती गरेर अतिरिक्त आम्दानी समेत गरिरकेका छन् ।
चतुर्भूजेस्वर क्याम्पसबाटै २० मिनेटको दूरीमा छ समृद्धि वन समूह । यो समूहमा करिब १ सय जना सदस्य छन् । साढे १७ हेक्टरमा फैलिएको वन नदी उकास क्षेत्रमा २०८१ साल जेठमा लगाइएको हो ।
आँप, गुलमोहर, जामुनलगायत विभिन्न गरी २ हजार बोटबिरुवा यहाँ हुर्किरहेका छन् । रोचक त के छ भने यो नदी उकास जग्गा करिब ९० विपन्न तथा किसान परिवारलाई बाँडिएको छ । उनीहरूलाई २ देखि ५ कट्ठासम्म गरी भाग लगाइएको छ । र प्रत्येक किसानले आफ्नो भागमा रहेको बोटबिरुवाको संरक्षण गर्दै कृषि बाली लगाएर आयआम्दानी गर्न समूहले छुट दिएको छ ।
चालु आर्थिक वर्षमा बोडी, बदाम, आलुलगायतबाट उनीहरूले २० हजारसम्म आम्दानी गरेका छन् ।
२०८० सालको असारमा हरिवन नगरपालिकासँगको सम्झौतापश्चात् वृक्षारोपण गरिएको उक्त जमिनमा संघीय सरकारको ससर्त अनुदानबापत २०८०/८१ मा विनियोजित ४७ लाखमध्ये करिब ३० लाख खर्च भएको छ । जसमा वृक्षारोपणसहित प्राविधिकको तलबभत्ता, संस्थागत क्षमतावृद्धि, सुशासनलगायत छन् ।

वन अहिले हेर्नलायक भएको छ । यस वर्ष मात्रै चितवन, काठमाडौँ, सिन्धुलीलगायतका जिल्लाबाट वन विज्ञान अध्ययन संस्थान र वन विज्ञान संकाय हेटौँडाका विद्यार्थीहरू अध्ययन र अनुगमनका लागि आएका छन् । साथै मधेश प्रदेशमा सञ्चालित समृद्धिका लागि वन परियोजनाका २५ वटै पालिकाका वन प्राविधिकले समेत उक्त नमुना कृषि वनको अवलोकन गरेको कृषि वन समूहका अध्यक्ष कृष्णकुमार लामाले जानकारी दिनुभएको छ । उहाँको धारणा पनि स्पष्ट छ- गरिबलाई समेत आयआर्जनसँग जोड्ने । उहाँ भन्नुहुन्छ, “गरिबीको रेखामुनि रहेकाहरूलाई पनि आयआर्जन होस् र पिकनिक स्पटको रूपमा विकास गर्न सकियोस् भन्ने हाम्रो मुख्य लक्ष्य हो ।”
यसरी समृद्धिका लागि वन परियोजनामार्फत दुवै स्थानसहित तराईका ८ वटै जिल्लाका विभिन्न २५ वटै पलिकामा वन वृक्षारोपण तथा हरियाली प्रवर्द्धनमा प्रेरित गर्ने रेड कार्यान्वयन केन्द्र र प्रदेश वन निर्देशनालयको मुख्य भूमिका रहेको कुरा प्रदेश वन व्यवस्थापन एकाई जनकपुरधामका अनुगमन तथा मूल्यांकन विज्ञ सन्तोष दुवे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसवाट कार्बन उत्सर्जन न्यूनीकरण योगदान पुग्नुको साथै लक्षित लाभग्राहीहरूलाई वनवाट प्राप्त हुने प्रतिफल काठ दाउरा, घाँस आदि पनि प्राप्त हुने उद्देश्य साथ यो परियोजना अगाडि बढिरहेको छ ।”
यता हरिवन नगरपालिकाले अहिले नगर क्षेत्रका विभिन्न खाली जग्गाको विवरण संकलन गरिरहेको छ । कारण- खाली जग्गामा यस्ता वन विकास गर्दै जाने । नगरपालिकाका वन अधिकृत सुवास कुशवाहा भन्नुहुन्छ, “दुवै चतुर्भुजेश्वर र समृद्धि वन लगाउन सुरुमा समस्या भयो नै । तर अहिले सरोकारवाला सबै सन्तुष्ट हुनुहुन्छ । उहाँहरूको उत्साह देखेर हामीले अहिले नगरभित्रका पर्ती, सार्वजनिक तथा ऐलानी जग्गाको विवरण संकलन गरिरहेका छौँ । छिट्टै ती स्थानमा पनि वन लगाउँछौँ ।”
