‘एक बोट सयको नोट’ कार्यक्रमले रिब्दीकोटका किसान उत्साहित

असार १२, २०८३ |माधव अर्याल
‘एक बोट सयको नोट’ कार्यक्रमले रिब्दीकोटका किसान उत्साहित

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले आठवटै वडामा फलफूलको नमुना बगैँचा बनाउने उद्देश्यले किसान प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । 

चालु आर्थिक वर्षमा गाउँपालिकाले 'एक बोट सयको नोट' कार्यक्रम ल्याएपछि ३ सय ८८ जना किसानले ३७ हजारभन्दा बढी फलफूलका बिरुवाको माग गरेका छन् । चार वर्षसम्म गाउँपालिकाले प्रत्यक्ष निगरानीमा प्राविधिक सहयोग दिने भएपछि किसान उत्साहित बनेका हुन् ।

पाल्पाको रिब्दीकोट गाउँपालिका २ देउरालीका खिमलाल पोखरेलको बगैँचामा सुन्तला, कागती, मौसमलगायतका ३ सय २६ बोट छन् । आफ्नै पहलमा २ सयभन्दा बढी बिरुवा लगाउनुभएका पोखरेलले यस वर्ष भने गाउँपालिकाले एक बोट सयको नोट कार्यक्रम ल्याएपछि रैनादेवी छहरा पुगेर बेर्ना ल्याएर बारीभरि लगाउन सुरु गर्नुभएको छ । 

जंगली जनावरले तरकारी र अन्नबालीमा नोक्सानी गर्ने हुनाले उहाँ अमिलो जातका फलफूलको विकल्पमा जानुभएको हो। चार वर्षसम्म पालिकाले प्राविधिक रेखदेख गर्ने भएपछि किसानमा उत्साहित छन् । बोटले उत्पादन दिन सुरु नगर्दासम्म हरेक वर्ष थोरै भए पनि अनुदान दिनेगरी कार्यविधि बनेको छ । 

न्यूनतम् ५० वटा बिरुवा लगाउने किसानलाई पहिलो वर्ष एक सय, दोस्रो वर्ष ७५, तेस्रो वर्ष ५० र चोथो वर्ष २५ रुपैयाँका दरले अनुदान दिने व्यवस्था गरेकाले किसान उत्साहित छन् । महात्वकांक्षी कार्यक्रममार्फत बाँझो जमिनको सदुपयोग गर्ने योजना गाउँपालिका छ । 

यस वर्ष ४० लाख बजेट विनियोजन गरेर ४० हजार बिरुवा लगाउने योजनाअनुसार किसानसँग योजना माग गरिएको थियो । गाउँपालिकाले किसानलाई भेट्ने, माटो परीक्षण गर्ने, प्राविधिक ज्ञान दिनुका साथै अन्य सहजीकरण गर्दै आएको छ ।

रिब्दीकोट कृषि परियोजनाअन्तर्गत साझेदार संस्था हेफर नेपाल र ग्रामीण आर्थिक विकास संघ पाल्पाले सहजीकरण गरेका छन्। सबैभन्दा धेरै १८ हजार ७ सयभन्दा बढी सुन्तलाको बिरुवाको माग रहेको छ। त्यसबाहेक कागती, कफी, टिमुरको बिरुवाको माग बढी छ । 

बुद्धचित्त, दालचिनी, अलैँची, किवी, एभोकाडो, लिची, शीतलचिनी, ओखर, डागन फ्रुट, आरुबखडा, अम्बा, जुनार, मौसम, आापलगायतका फलफुल बिरुवा पनि किसानले माग गरेका छन् ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।