जरिवाना बढ्दैमा ट्राफिक अनुशासन बढ्ला त ?

असार १३, २०८३ |शिखा श्रेष्ठ
जरिवाना बढ्दैमा ट्राफिक अनुशासन बढ्ला त ?

काठमाडौं । साउन १ गतेदेखि ट्राफिक नियम मिच्ने सवारी चालकलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने तयारी भइरहेको छ । 

दुर्घटना न्यूनीकरणको उद्देश्यले परिमार्जन गर्न लागिएको सवारी तथा यातायात व्यवस्था ऐनलाई कडाइका साथ लागू गर्नुपूर्व अहिले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकदेखि सञ्जालसम्म सचेतनाको विशेष अभियान चलाइरहेको छ ।

तपाईँहरूले ख्याल गर्नुभएको छ ? 

पछिल्लो समय नेपाल प्रहरी तथा ट्राफिक प्रहरी नागरिक सचेतनामा निकै सक्रिय बनेको छ । ट्राफिक प्रहरीले विद्यालय, स्वयंसेवक र नागरिक समाजदेखि कन्टेन्ट क्रिएटर र सामाजिक सञ्जालमार्फत थुप्रै नागरिक सचेतनाको अभियान चलाइरहेको छ ।

किनकि, साउन १ गतेदेखि सरकारले सवारी नियम उल्लंघन गर्ने सवारीदेखि पैदालयात्रुसम्मलाई कडा आर्थिक दण्डको व्यवस्था गर्ने गृहकार्य गरिरहेको छ । अन्तर्राष्ट्रिय अभ्यासलाई पछ्याउँदै सवारी तथा यातायात व्यवस्था ऐन-२०४९ लाई संशोधन गरी सरकारले कसुरको मात्रा हेरेर ट्राफिक नियम पालना नगर्ने सवारी चालकलाई बढीमा ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गर्न लागेको हो । 

नयाँ जरिवानाको व्यवस्थाप्रति सवारी चालकहरू पनि सचेत नै छन् । नयाँ नियमले अबदेखि जेब्रा क्रसिङबाट बाटो नकाट्ने, आकाशे पुलको प्रयोग नगरी जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारबाहीको दायरामा ल्याउनेछ। हुन त यसअघि पनि जेब्राक्रसिङबाट बाटो नकाट्ने पैदलयात्रुलाई ट्राफिक प्रहरीले जरिवाना गराएको थियो । 

यद्यपि अधिक विरोध भएपछि यो नियम लामो समय लागू गरिएन । तर, यात्रुहरू भने केही हदसम्म सचेत भएका थिए । ट्राफिक प्रहरीले गीतको माध्यमबाट पनि सचेतना फैलाइरहेको छ । त्यस्तै, सामाजिक सञ्जालमार्फत पनि सचेतना सामग्री उत्पादन र प्रसारण गरिरहेको छ। 

सडकमा हरेक नागरिकको ज्यान सुरक्षित गर्न र नियम नमान्ने प्रवृत्तिको अन्त्य गर्न ट्राफिक नियमको उल्लंघन गर्नेलाई कडा आर्थिक दण्डको व्यवस्था हुनुपर्ने ट्राफिक प्रहरीको भनाइ छ । तर, के जरिवाना रकम बढाउँदैमा नियम मान्नेहरू बढिहाल्छन् भन्ने हुन्छ त ? 

अनि यो अनुपातको जरिवाना रकम कति स्वाभाविक कति अस्वाभाविक ?

सडकमा ट्राफिक नियम मान्नुपर्छ । यो अनिवार्य सर्त हो । किनकि एक चालक वा एक यात्रुले नियम मिच्दा अर्को व्यक्तिको ज्यान जोखिममा पर्न सक्छ । तर, सरकारले व्यावहारिकता पनि उत्तिकै ख्याल गर्नपर्छ भने अब सुरक्षित सडक पूर्वाधारमा पनि ध्यान दिनुपर्छ ।

सम्बन्धित समाचार :

ट्राफिक नियम उल्लंघन गर्नेप्रति निर्मम बन्दै सरकार


Image

शिखा श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनकाे सुरक्षा ब्युराेमा कार्यरत छिन् ।