ट्राफिक नियम उल्लंघन गर्नेप्रति निर्मम बन्दै सरकार

मापसेमा ५० हजारसम्म जरिवाना
असार १३, २०८३ |विकास आचार्य
ट्राफिक नियम उल्लंघन गर्नेप्रति निर्मम बन्दै सरकार

काठमाडौं । के तपाईँ कहिलेकाहीँ मापसे गरेर सवारी चलाउनुहुन्छ ? 

त्यसो हो भने अब ट्राफिक चेकिङमा परिहाले ५ सय/हजार रुपैयाँ तिरेर उम्किहाल्छु नि भन्ने दिन गए । प्रस्तावित विधेयकअनुसार मापसे गरेर सवारी चलाउनेलाई ५० हजार रुपैयाँसम्मको जरिवाना उल्लेख छ । नयाँ विधेयकमा ट्राफिक नियम मिच्दा कति कति जरिवाना प्रस्ताव गरिएको छ त ?

अब मापसे गरेर सवारी चलाउनेले ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको विधेयकमा दुई वा तीनपाङ्ग्रे सवारी चालकलाई २५ हजार, कार र जीप चालकलाई ३५ हजार र मझौला तथा ठूला सवारी चालकलाई ५० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ । 

लागूपदार्थ सेवन गर्ने र तीव्र गतिमा सवारी हाँक्नेका हकमा पनि सवारीको आकारअनुसार यही जरिवाना लागू हुनेछ । सवारी तथा यातायातसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अहिले कानुन मन्त्रालयमा रायका लागि पठाइएको छ । 

चरणबद्धरूपमा यो विधेयक संसद्‌ पुगेर जस्ताको त्यस्तै पारित भएमा ट्राफिक प्रहरीले ३९ प्रकारका नियम उल्लंघनमा कारबाही गर्न पाउने र कसुरअनुसार ५०० देखि १ लाख रुपैयाँसम्मको जरिवाना गर्नसक्नेछ । १ लाख तिर्नुपर्ने कसुर चाहिँ सवारी साधनमा अपारदर्शी सिसा राखेमा हो । 

अर्थात् कालो सिसा हालेमा वा स्टिकर टाँसेर भित्रको नदेखिने बनाएमा ट्राफिक प्रहरीले तपाईँलाई १ लाख रुपैयाँको चिट काट्नेछ । यस्तै रातो प्लेटको सवारी भाडामा चलाएमा १५ हजारसम्म जरिवाना तिर्नुपर्छ । अहिले पठाओ, यांगो, इनड्राइभजस्ता थुप्रै राइड सेयरिङ कम्पनीमा आबद्ध सवारी रातै नम्बर प्लेटमा यात्रु बोकिरहेका छन् । 

यिनलाई नियमन गर्न भने सरकारले अलग्गै कानुन बनाउँदै छ । यसैगरी लाइसेन्सबिना र अर्कै वर्गको लाइसेन्स चलाएमा अनि जाँचपास नगराई प्रदूषण फेल सवारी चलाएमा पनि १५ हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ । अनुमति नलिई विदेशी सवारी साधन चलाएमा २५ हजार, निर्माण सामग्री/पशु चौपाया छाडेर सडकमा अवरोध पुर्‍याएमा ५ देखि २५ हजार, सिट क्षमताभन्दा बढी यात्रु राखेमा २० हजार रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ ।

प्रस्तावित प्रावधानअनुसार मालवाहक सवारीमा तोकिएभन्दा बढी सामान बोकेमा र पञ्जीकरण नगरी सार्वजनिक यातायात चलाएमा १५ हजार रुपैयाँ तिर्नुपर्नेछ । लेन अनुशासन पालना नगर्ने, फुटपाथमा र वान-वेमा हाँक्ने अनि मोबाइल प्रयोग गर्दै सवारी चलाएमा १० हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

रुट पर्मिट नलिई र थर्ड पार्टी बीमा नगराई सवारी चलाएमा १० हजार रुपैयाँ जरिवाना लाग्नेछ । सवारीको ढोका खुल्ला राखी चलाएमा वा अवस्था ठीक नभएको सवारी चलाएमा, निषेधित स्थानमा पार्किङ गरेमा, हेलचेक्र्याइँ वा लापरबाहीपूर्वक सवारी चलाएमा, ट्राफिक संकेत पालना नगरेमा, निर्धारित गतिभन्दा धेरै कम गतिमा सवारी चलाएमा ५ हजार रुपैयाँसम्म जरिवानाको प्रस्ताव गरिएको छ ।

हेलमेट वा सिट बेल्ट नलगाई चलाएमा, ट्याक्सीले मिटरमा जान नमानेमा, सार्वजनिक सवारीमा यात्रुलाई खतरा हुने गरी सामान ढुवानी गरेमा, प्रशिक्षार्थीले प्रशिक्षक साथमा नराखी सवारी चलाएमा ३ हजार रुपैयाँसम्म फाइन तिर्नुपर्ने हुन्छ ।

यस्तै राति बत्ती नबाल्ने, निषेधित क्षेत्रमा ओभरटेक गर्ने, अफलाइन राइड सेयरिङ सेवा प्रदान गर्नेलाई २ हजारको चिट ट्राफिकले काट्नेछ । दुर्घटनापछि चालक र कर्मचारीले कर्तव्य पालना नगरेमा, निर्धारित सिट क्षमतासम्म यात्री लिन इन्कार गरेमा पनि २ हजार तिर्नुपर्नेछ ।

ब्लुबुक र लाइसेन्स साथमा नलिएका र डिजिटल पनि देखाउन नसके, सडकमा फोहोर फाले, निषेधित क्षेत्र र समयमा सवारी चलाए १ हजारको जरिवाना लाग्छ । निषेधित क्षेत्रमा हर्न बजाए, पैदलयात्रीले जथाभावी सडक पार गरे, सवारी चालक सहचालकले पोशाक र परिचयपत्र नलगाए ५ सय रुपैयाँ तिर्नुपर्छ ।

सम्बन्धित समाचार :

जरिवाना बढ्दैमा ट्राफिक अनुशासन बढ्ला त ?


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।