विश्वकपमा कीर्तिमानको ओइरो, अन्डरडगको उदय

असार १३, २०८३ |सुवास रोकाया
विश्वकपमा कीर्तिमानको ओइरो, अन्डरडगको उदय

काठमाडौं । कीर्तिमानको वर्षा, गोलको बाढी र अप्रत्यासित नतिजाले भरिएको फिफा विश्वकप २०२६ समूह चरणकै अन्त्यतिर पुग्दा रोमाञ्चक बन्दै गएको छ । 

जहाँ ४८ टोलीको ऐतिहासिक भिडन्तबीच ६६ खेलमा एक सय ९६ गोल भइसकेका छन् । मेस्सी-रोनाल्डोजस्ता दिग्गजदेखि केप भर्डेजस्ता अन्डरडगसम्मले विश्व फुटबलको कथा नयाा ढंगले लेखिरहेका छन् ।

विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप २०२६ अहिले आफ्नो समूह चरणको अन्तिम मोडमा आइपुगेको छ । ४८ टोलीको ऐतिहासिक सहभागिता रहेको जारी संस्करणले सुरुवाती चरणमै अभूतपूर्व कीर्तिमान, अप्रत्याशित नतिजा र रोमाञ्चक प्रतिस्पर्धाको चित्र कोरिसकेको छ ।

सबैभन्दा पहिले चर्चा गरौं कीर्तिमानहरूको । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सीकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको खेलमा दक्षिण अफ्रिकाका दुई र मेक्सीकोका एक खेलाडीले रातो कार्ड पाउँदै मैदान छाड्नुपरेको थियो । 

विश्वकपको उद्घाटन खेलमा तीन वटा रातो कार्ड देखाइएको यो पहिलो पटक हो । यस विश्वकपमा हाल सात ७ पटक सिधै र समग्रमा १० पटक रातो कार्ड देखाइएको छ । जारी विश्वकपले दर्शकको उपस्थितिमा नयाँ इतिहास रचेको छ । अहिलेसम्म ३६ लाखभन्दा बढी दर्शक रंगशालामा पुगिसकेका छन् । 

जुन विश्वकप इतिहासकै उच्चतम संख्या हो । समूह चरणका केही र नटकआउट चरणका खेल बाँकी रहँदा यो संख्या अझै बढ्ने निश्चित छ । एकै दिनमा भएको दर्शक उपस्थितिले पनि नयाँ रेकर्ड बनाएको छ । हालसम्म ६६ खेलमा एक सय ९६ गोल भएका छन् । 

जुन एकै संस्करणमा भएको सर्वाधिक गोल संख्या हो । नकआउट चरणका खेलसमेत बाँकी रहँदा सन् २०२२ को कतार विश्वकपमा बनेको एक सय ७२ गोलको कीर्तिमान भंग भइसकेको छ । व्यक्तिगत प्रदर्शनतर्फ अर्जेन्टीनाका स्टार खेलाडी लियोनेल मेसीले विश्वकप इतिहासमा सबैभन्दा धेरै १८ गोल गर्दै कीर्तिमान बनाएका छन् । 

जारी विश्वकपमा उनले पाँच गोल गरिसकेका छन् । क्रिस्टियानो रोनाल्डोले उमेरलाई चुनौती दिँदै अर्को ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । ४१ वर्षको उमेरमा उनले आफ्नो छैटौं विश्वकप खेल्दै, ६ फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान कायम गरेका छन् ।

टोलीगत प्रदर्शनमा नेदरल्यान्ड्स र फ्रान्स आक्रामक खेलको उत्कृष्ट उदाहरण बनेका छन् । दुवैले समूह चरणमै १०-१० गोल गर्दै आफ्नो आक्रामक शक्तिको परिचय दिएका छन् । अर्कोतर्फ, मेक्सिकोले ३ क्लिन सिटसहित बलियो र अनुशासित रक्षापंक्तिको प्रदर्शन गर्दै आफूलाई सन्तुलित टोलीको रूपमा स्थापित गरेको छ ।

डेब्यू टोली केप भर्डेले सबैलाई आश्चर्यचकित बनाएको छ । स्पेन र साउदी अरबसँग गोलरहित बराबरी र उरुग्वेसँग २-२ को रोमाञ्चक खेल खेलेर यो टोलीले आफ्नो क्षमता प्रमाणित गरेको छ । समूह एचका ३ खेलमा ३ बराबरी गर्दै नकआउट चरणमा पुगेको यो टापु राष्ट्रले प्रि क्वार्टरफाइनल प्रवेशका लागि अर्जेन्टीनाको सामना गर्नेछ । 

टर्कीए र उरुग्वेजस्ता टोलीहरू अपेक्षाभन्दा कमजोर देखिए । प्रतियोगिताको 'डार्कहर्स' मानिएका यी टोली समूह चरणबाटै बाहिरिएका छन्। मेस्सी र रोनाल्डोको सम्भावित अन्तिम विश्वकप यात्राले कस्तो मोड लिन्छ।केप भर्डे जस्ता अन्डरडग टोली कति टाढासम्म पुग्छन्, र कुन टोलीले अन्ततः विश्वकपको उपाधि जित्ला ?


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।