झापा । नेपालका अधिकांश सहरी क्षेत्रको जमिन कंक्रिटमय बनिसकेको छ । अन्धाधुन्ध भौतिक निर्माणले उर्वर जमिन मासिदै छ भने भएका जमिनमा पनि उत्पादन हुनै छाडिसक्यो ।
जसका कारण सहरी क्षेत्रका उपभोक्ताले बाहिरी उत्पादनमै निर्भर बन्नुपरेको छ । झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोड भने सहर विस्तारको होडसँगै तरकारी उत्पादनमा पनि उत्तिकै अग्रणी छ ।
बाहिरबाट झट्ट हेर्दा झापाको विर्तामोड बजारलाई कंक्रिटै कंक्रिटले ढाकेको छ । फराकिला र चिल्ला सडकका साथै आलिसान भवन बन्ने होडमा विर्तामोडले केही वर्षयता देशका अरु ठूला सहरलाई पच्छ्याउँदै र उछिन्दै गएको छ । तर, यो भौतिक छलाङसँग मात्रै विर्तामोड अल्झिएको छैन ।
बजार क्षेत्रबाट थोरै बाहिर जानेवित्तिकै यहाँको जमिन हराभरा देख्न सकिन्छ । पछिल्लो समय यहाँका जमिनमा ठूल-ठूला कृषि फार्म खुलेका छन् । ती फार्ममा बाह्रै महिना तरकारी खेती हुन्छ ।
किसानले सिजनअनुसार थरिथरि तरकारी फलाएर नगरलाई तरकारीमा आत्मनिर्भर बनाउँदै लगेका छन् । उत्पादन र बजारीकरणमा नगरको साथ पाएपछि पछिल्ला दुई वर्षयता मात्र विर्तामोडमा दर्जनबढी ठूला कृषिफार्म खुलिसकेका छन् ।
विर्तामोड नगरपालिकामा रहेको कृषि विकास शाखाको तथ्यांक हेर्दा अहिले यहाा मासिक ३० देखि ३२ हजार केजी तरकारी उत्पादन हुने गरेको छ । यसलाई बढाएर ४० /५० हजार केजीसम्म पुर्याउने नगरपालिकाको योजना छ ।
नगरपालिकाले तरकारीको लागत मूल्यमा ४० प्रतिशत थपेर किसानलाई अनुदान दिने नीति लिएसागै विर्तामोडका किसान तरकारी उत्पादनतर्फ थप आकर्षित बनेका हुन् । भौतिक विकासको नाममा चिल्ला सडक र अग्ला भवनमा मात्र ध्यान दिने सहरी संस्कृतिलाई अव विर्तामोडले जस्तै परिवर्तन गर्न जरुरी छ ।