प्रदूषित हावाबीच विद्यालय सञ्चालन, सावधानीमा शिक्षक-विद्यार्थी उदासीन

फाल्गुन २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रदूषित हावाबीच विद्यालय सञ्चालन, सावधानीमा शिक्षक-विद्यार्थी उदासीन

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदुषणको मात्र सुधार भएको छैन । 

घाम नलाग्नु,आकाश धुम्म हुनु जस्ता कारणले वायु प्रदूषण भएर जनस्वास्थ्यमा प्रभाव पर्न थालेपछि स्वास्थ्य मन्त्रालयले अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन र स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको थियो । तर, शिक्षक विद्यार्थीहरुले भने सरकारले भनेजस्तो सुरक्षा सावधानी अपनाएका छैनन् ।

काठमाडौंको रत्नपार्क नजिकै रहेको दरबार हाइस्कुलमा १२ सय विद्यार्थी अध्ययनरत छन् । बिहीबार कान्तिपुरको टिम पुग्दा विद्यालयका शिक्षकले शुक्रबारदेखि सबै विद्यार्थीलाई प्रदूषणबाट बच्न मास्क अनिवार्य गर्ने बताएका थिए । तर, हामी साढे १२ बजे विध्यालयमा पुग्दा एक दुई जनाबाहेक शिक्षक विद्यार्थी कसैले मास्क लगाएको देखिएन ।

दरबार हाइस्कुलसँगै जोडिएको भवनमै रहेको अर्को संस्कृत विद्यालयमा समेत वायु प्रदूषणबाट जोगिन विद्यार्थीले मास्क लगाएर आएको देखिएन । जहाँ ५ सयभन्दा बढी विद्यार्थी अध्यनरत छन् । यी दुई स्कुल मात्र नभइ काठमाडौं उपत्यकाका सामुदायिक होस वा निजी विद्यालयका शिक्षक विद्यार्थीले सजगता अपनाएका छैनन् । 

जबकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषणकै कारण अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन भने पनि दिनहुँ उपत्यकामा हजारौं बालबालिका विध्यालय आउजाउ गर्दा सजगता अपनाएका छैनन् । अभिभावकहरूले पनि आफ्ना सन्तानलाई मास्क लगाएर स्कुल पठाउने गरेका छैनन् । 

विद्यालयमा विषाक्त हावाले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भए पनि शिक्षक र अभिभावकले स्वास्थ्य सावधानी अपनाएका छैनन् । शिक्षा मन्त्रालयका अनुसार सामुदायिक र निजी गरी ३५ हजार विध्यालयमा ७० लाख विध्यार्थी अधययनरत छन् । 

त्यसमध्ये काठमाडौं उपत्यकामा ४ लाख ६० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ती विद्यार्थीलाई वायु प्रदूषण र त्यसबाट हुन सक्ने असरबाट बच्न मास्कलगायतका स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न गराउन विध्यालयदेखि स्थानीय निकायलाई अग्रह गरेको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयका अनुसार वायु प्रदूषण अर्थात् विषाक्त हावाका कारण आँखा पाल्ने, स्वासप्रस्वासलगायत बालबालिकादेखि जेष्ठ नागरिकमा बढी प्रभावित भएका छन् । नेपालमा वायु प्रदूषणाका कारण हरेक वर्ष ४१ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । यीमध्ये २१ प्रतिशत ५ वर्षमुनिका बालबालिका हुन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.