महोत्तरीमा खाना पकाउने एलपीजी ग्यासको अभाव, उपभोक्ताहरू मारमा

फाल्गुन २९, २०८२ |विकास आर्या
महोत्तरीमा खाना पकाउने एलपीजी ग्यासको अभाव, उपभोक्ताहरू मारमा

महोत्तरी । महोत्तरीमा खाना पकाउने एलपीजी ग्यासको अभाव सिर्जना भएपछि उपभोक्ताहरू मारमा परेका छन् । 

पश्चिम एसियामा इरान-इजरायबीचको युद्धका कारण भारतबाट ग्यास आयातमा कडाइ गरिएपछि महोत्तरी जिल्लाभरी समेत ग्यासको अभाव सिर्जना भएको हो । बजारमा ग्यासको अभाव रहेको गुनासो स्थानीय उपभोक्ताहरूको समेत छ । ग्यास लिनकालागि बजारमा जाने उपभोक्ताहरूलाई रित्तै घर फर्किनु परिरहेको छ ।

बजारमा बिक्रेताहरूले जानी जानी ग्यास जम्मा गरेर कालोबजारी गरिरहेको आरोप समेत स्थानीयको छ । कतिपय उपभोक्ताले निर्धारित मूल्यभन्दा बढी मूल्य तिरेर ग्यास सिलिन्डर खरिद गर्न बाध्य भएको समेत बताउँछन् । तर बजारमा ग्यासको आपूर्ति अभावका कारण यस्तो स्थितिको सिर्जना भएको बिक्रेताहरू बताउँछन् । 

पहिले साप्ताहिक रूपमै ग्यास सिलिन्डर कम्पनीबाट आउने गरेको बताउँदै एक ग्यास बिक्रेताले दुई हप्ता भए पनि एउटा पनि सिलिन्डर आफूलाई कम्पनीले नपाएको बताए । महोत्तरी सदरमुकाम जलेश्वरमा ग्यास सिलिन्डर अभावको गुनासो बढ्न थालेपछि जलेश्वर उद्योग वाणिज्य संघले यसको समाधान खोज्ने प्रयास भइरहेको जनाएको छ । 

यता जिल्ला प्रशासन कार्यालय महोत्तरीले ग्यासको कालोबजारी गर्नेलाई कारबाही गर्ने सार्वजनिक सूचना समेत जारी गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले उपभोक्तालाई ग्यास सिलिन्डरको अभाव हुन नदिनकालागि एक परिवार एक सिलिन्डर दिइने र त्यसको मिति सहितको लगत राख्ने गरी समन्वय गर्ने काम भइरहेको जानकारी दिनुभयो । 

उहाँले आपूर्ति कर्ता कम्पनीहरूसँग समेत समन्वय गरिने बताउनु भयो । खाना पकाउने एलपीजी ग्यासको अभाव सिर्जना भएपछि देशैभरी आधा सिलिन्डर उपलब्ध गराउने नीति अपनाइएको समयमा समेत उपभोक्ताहरुले रित्तै हात घर फर्किन बाध्य भएपछि उनीहरू निराश छन् । यो समस्याको समाधानकालागि उपभोक्ताहरूले सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।