
काठमाडौं । स्पेनका विश्व नम्बर एक कार्लोस अल्काराज अमेरिकामा जारी इन्डियन वेल्स मास्टर्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बेलायतका क्यामरून नोरीलाई ६-३, ६-४ को सोझो सेटमा पराजित गर्दै अल्काराजले पाँचौं पटक इन्डियन वेल्सको सेमिफाइनल यात्रा तय गरेका हुन् । प्रतिस्पर्धात्मक बनेको क्वार्टरफाइनल खेलमा दुवै खेलाडीबीच कडा टक्कर देखिएको थियो । पहिलो सेटमा सुरुआतमा केही दबाबमा परेका अल्काराजले महत्त्वपूर्ण क्षणमा खेलको नियन्त्रण आफ्नो पक्षमा फर्काए ।
उनले करिब आधा घन्टामै पहिलो सेट आफ्नो नाममा पार्न सफल भए । दोस्रो सेट पनि निकै प्रतिस्पर्धात्मक बन्यो । अन्तिम चरणमा नोरीले दुईवटा म्याच पोइन्ट जोगाए पनि अल्काराजले आक्रामक खेल प्रस्तुत गर्दै सर्भमार्फत नतिजा आफ्नो पक्षमा पारे ।
यस जितसँगै २२ वर्षीय अल्काराजले सन् २०२६ सिजनमा अपराजित यात्रा कायम रहेका छन् । उनले यसअघि सिजनको सुरुवातमै अस्ट्रेलियन ओपन जित्दै करिअर ग्रान्ड स्लाम पूरा गरेका थिए । त्यसपछि उनले कतार ओपन टेनिस पनि आफ्नो नाममा पारेका थिए ।
अब सेमिफाइनलमा अल्काराजको सामना रसियाका शीर्ष खेलाडी डानिल मेदभेदेभसँग हुनेछ। मेदभेदेभले क्वार्टरफाइनलमा गत वर्षका च्याम्पियन बेलायतका ज्याक ड्रेपरलाई ६-१, ७-५ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।