
नवलपरासी । पश्चिम नवलपरासीमा खाना पकाउने ग्यासको कृतिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालयले बजार तथा उद्योगको अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयलगायत सरोकारवालाले जिल्लाको सदरमुकाम परासीमा गरिएको अनुगमनमा उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास माग गर्ने, अभाव हुने डरले एकै पटक दुईवटा सिलिन्डर भर्ने गरेको पाइएकाे छ ।
ग्यास लिएर जाने उपभोक्ताको नाम र ठेगाना लेख्ने र एउटा परिवारलाई एक पटकमा एउटा मात्र सिलिन्डर लैजान अनुरोध गर्न प्रशासनले ग्यास विक्रेतालाई निर्देशन दिएको छ । बजार अनुगमन समितिले डिपोसँगै जिल्लामा रहेको आरती र चण्डेश्वरी ग्यास उद्योगमा पनि अनुगमन गरेको थियो ।
अनुगमनकोक्रममा डिपो र उद्योगमा नियमितरूपमा ग्यासको आपुर्ति भैरहेको र अभाव नभएको घरलु तथा साना उद्योग कार्यालय परासीमा प्रमुख मोहन पाण्डेले बताउनुभयाे । ‘हामीले अनुगमनकोक्रममा डिपो र उद्योगमा ग्यास आपुर्तिमा समस्या भेटेनौं ।’ उहाँले भन्नुभयाे,‘ उपभोक्ता स्तरबाट नै स्टक राख्नका लागि बढी माग भएको भेटिएको छ । उपभोक्ताले आफूलाई आवश्यक्ता भन्दाबढी सिलिन्डर खरिद नगर्न आग्रह गर्दछौं ।’