
काठमाडौं । नेपाल आयल निगमले शुक्रबारदेखि देशभर ग्यास अभाव हटाउन आधा भरिएको सिलिन्डर बजारमा पठाउन सुरू गरेको छ ।
देशमा ग्यास आयात खपतअनुसार नै भइरहे पनि उपभोक्तामा फैलिएको त्रासका कारण ग्यास सञ्चिति बढ्दा बजारमा वितरणमा समस्या देखिएपछि निगमले आधा भरीका सिलिन्डर बजारमा पठाएको हो । निगमका प्रवक्ता मनोज ठाकुरले सुरुमा चुनावको सन्दर्भलाई लिएर ग्यासको आपूर्तिमा समस्या हुनसक्ने आशंकाले उपभोक्ताले ग्यास जोहो गरेको र अहिले झन सञ्चिति गर्ने क्रम बढ्दा अभाव चर्किंदै गएको बताउनु भयो ।
उहाँकाअनुसार सुरुमा एक-दुईवटा कम्पनीको मात्रै ग्यास अभाव भए पनि अहिले अरू ग्यासहरू पनि नपाइने स्थीति आएपछि त्यसलाई सहजीकरण गर्न आधा सिलिन्डर बजारमा पठाइएको हो । निगमकाअनुसार देशमा ग्यास आयात भने खपत अनुसार नै भइरहेको छ ।
गत पुस महिनामा ४७ हजार मेट्रिक टन ग्यास आयात भएको थियो भने माघ महिनामा करिब ४६ हजार मेट्रिक टन ग्यास आयात गरिएको छ । नेपालको मासिक खपत करिव ४५ देखि ४६ हजार मेट्रिक टन ग्यास रहेको निगमले ठाकुरले जानकारी दिनुभयो । उहाँकाअनुसार यो महिनामा मात्रै फागुन २६ गतेसम्म करिब साढे ४६ हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ ।
तर, उपभोक्ताले सहज रूपमा ग्यास नपाएपछि समस्या समाधानका लागि निगमले बृहत छलफल गरेर आधा सिलिन्डर ग्यास वितरण गर्ने निर्णय गरेको ठाकुरको भनाइ छ । ठाकुरकाअनुसार ग्यासको अभावको असर विशेषगरी हुनेखानेभन्दा विद्यार्थी र मजदुर वर्गमा बढी देखिएको छ ।
उनीहरूलाई एउटा ग्यास सिलिन्डर पाउन महिनौँ कुर्नुपर्ने अवस्था देखिएपछि उक्त समस्या समाधानका लागि ७.१ केजी ग्यास भरेर वितरण गर्ने निर्णय गरी कार्यान्वयनमा ल्याइएको छ । ठाकुरकाअनुसार यसअघि पूर्ण सिलिन्डर ग्यासको मूल्य १ हजार ९ सय १० रुपैयाँ रहेकोमा अब आधा सिलिन्डर अर्थात् ७.१ केजी ग्यासको मूल्य ९ सय ५५ रुपैयाँ तोकिएको छ । युद्धका कारण अहिलेसम्म ग्यास तथा इन्धन आयातमा कुनै समस्या नआएको निगमको भनाइ रहेको छ ।