ग्यासभन्दा बिजुली सस्तो : हरेक छाकमा ८ रूपैयाँ २३ पैसा बचत

ग्यास आयातमा अर्बौँ खर्च, तर भान्सामा बिजुली प्रयोग न्यून
फाल्गुन २९, २०८२ |सुदिल पोखरेल
ग्यासभन्दा बिजुली सस्तो : हरेक छाकमा ८ रूपैयाँ २३ पैसा बचत

काठमाडौं । अधिकांश नेपालीको चुलो सहरमा ग्यास र कतिपय ग्रामिण क्षेत्रमा दाउरा वा गुइंठाबाट चल्छ । 

विजुली प्रयोग गरेर भातभान्सा चलाउने अभ्यास नेपालमा निकै कम छ । तर धेरैलाई थाहा नभएको के हो भने विद्युतीय चुलोमा पकाउँदा हरेक छाकमा कम्तिमा ८ रुपैयाँ २३ पैसा बचत हुन्छ । ग्यास खोज्न भौतारिनु नपर्ने, ग्यास खरिदका लागि विदेश जाने मोटो रकम जोगिने र नेपालकै उत्पादन विजुली प्रयोग हुने भएकोले भान्साका लागि विद्युतीय चुलो नै सजिलो, सस्तो र किफायति हो ।

पश्चिम एसियामा जारी तनाव तथा नेपालमा आपूर्ति प्रणालीमा समस्या हुँदा अहिले बजारमा खाना पकाउने एलपीजी ग्यास अभाव छ । बजारमा ग्यास खोजी गर्ने उपभोक्ताको लाइन र सास्ती देखिन्छ । बिजुलीमा खाना पकाउने बानीको विकास गर्न नसक्दा ग्राहकले अहिले पनि सास्ती खेप्नु परेको मात्रै नभइ खाना पकाउने खर्चसमेत बढी गर्नुपरिहेको छ । 

बिजुली तथा दाउरा र ग्यासमा खाना पकाउँदाको लागतसम्बन्धी अध्ययन गरेको संस्थाकाअनुसार ग्यासमा खाना पकाउँदा एक छाकमा करिब ८ रूपैयाँ २३ पैसा खर्च हुने पिपुल इनर्जी एन्ड इन्भारोमेन्टल एशोसिएसन तथा पीडाले गरेको अध्ययनले दोखाएको छ ।

अध्ययन अनुसार अहिले ग्यासमा खाना पकाउँदा ५ जनाको परिवारलाई प्रतिछाक २० रूपैयाँ लाग्छ । र, यहि खाना इन्फ्रारेड बिजुली चुल्होमा पकाउँदा १२ रूपैयाँ ६० पैसा र इन्डक्सनमा ११ रूपैयाँ ७७ पैसा लाग्छ । यहि खानालाई इलेक्ट्रिक प्रेसर कुकरमा पकाइयो भने ६ रूपैयाँ २७ पैसा लाग्छ । अर्थात् ग्यासमा पकाउनेले दाल भात तरकारी र मासु इन्डक्सन्मा पकाए भने हरेक छाकमा ८ रूपैयाँ २३ पैसा बचत गर्न सकिन्छ ।

तर, भरपर्दाे बिजुली आपूर्तिसँगै बिजुलीको अधिक प्रयोग गर्नुपर्छ भन्ने प्रोत्साहन नागरिकलाई गर्न नसक्दा बिजुलीको खपत अपेक्षाअनुसार बढ्न सकेको छैन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७५ वैशाख २५ गते जारी गरेको उर्जा क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र -श्वेतपत्र मा ५ वर्षभित्र प्रतिव्यक्ति ७०० युनिट र १० वर्षभित्र १५ सय युनिट पुर्‍याउने प्रक्षेपण गरिएको थियो । 

अर्थात् २०८० मै प्रतिव्यक्ति विद्युत् खपत ७ सय पुग्नुपर्ने थियो । तर, लक्षित वर्षभन्दा दुई वर्षपछि पनि बिजुली खपत प्रतिव्यक्ति ४६५ युनिटमै सीमित छ । मुलुकमा बिजुलीको खपत बढाउन नसक्दा एकातिर वर्षातको समयमा बिजुली खेर जाने तथा बजार खोज्न विद्युत् प्राधिकरणले सास्ती खेप्नुपर्नेछ । 

अर्काेतिर वर्षेनि मुलुकमा ६२ अर्ब ५८ करोडको ग्यास आयात हुने गरेको छ भने मुलुकमा खपत हुन नसक्दा विद्युत् प्राधिकरणले भारत तथा बंगलादेशमा साढे १७ अर्ब बराबरको बिजुली बेचेको छ । सरकारले बिजुलीबाट खाना पकाउने विषयमा जनचेतना जगाउने मात्रै हैन भाडामा बस्नेहरुबाट घरधनीले असुल्दै आएको चर्काे शुल्कमा पनि नियन्त्रण गर्ने हो भने ग्यास नपाउँदा ग्राहक छटपटिने र बिजुली बेच्न प्राधिकरणले भारतलाई गुहार्नुपर्ने बाध्यतामा केही कमि आउनेछ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।