
धनकुटा । पर्यटकीयस्थल धनकुटाको भेडेटारमा स्थानीय उत्पादनको बिक्रि प्रवर्द्धनका लागि कोशेली घर सञ्चालनमा ल्याइएको छ ।
भेडेटार बजारमा गाउँपालिकाले निर्माण गरेको भवनमा निजी क्षेत्रको सहकार्यमा कोशेली घर सञ्चालनमा आएको हो । कोशेली घरबाट धनकुटामा उत्पादित कोदो, जुनेलो, गुन्द्रुक, तामा, मह, घिउ, दाल, किनेमा, अचार जस्ता रैथाने उत्पादनका साथै हस्तकलाका सामग्री, उन तथा ढाकाका कपडा, मौसमी फलफूल र जैविक उत्पादन बिक्रि सुरू गरिएको हो ।
अब भेडेटार आउने पर्यटकले एकैठाउँमा रैथाने उत्पादन अवलोकन र खरिद गर्न पाउने छन् । कोशेली घर सञ्चालनमा आएपछि उपभोक्तालाई गुणस्तरिय घरेलु उत्पादन उपलब्ध हुनुकासाथै उत्पादकलाई समेत बजारको समस्या नहुने साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रूम्दाली राईले बताउनुभयाे ।
धनकुटाको भेडेटार गर्मिछल्न आउने पर्यटकका लागि उपयुक्त मानिन्छ । भेडेटारमा महिनामा २२ हजारसम्म पर्यटक आएको तथ्याङक छ । भेडेटार घुम्न आउने मध्ये ७५ प्रतिशत पर्यटक पूर्विसीमाका भारतीय शहरका नागरिक छन् ।