३० वर्षपछि युरोपेली प्रतियोगिताको क्वार्टरफाइनलमा नटिङ्घम फरेस्ट

चैत्र ६, २०८२ |खेल ब्युरो
३० वर्षपछि युरोपेली प्रतियोगिताको क्वार्टरफाइनलमा नटिङ्घम फरेस्ट

काठमाडौँ । नटिङ्घम फरेस्ट ३० वर्षपछि युरोपेली प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । एफसी मिड्ल्यान्डविरुद्ध दोस्रो लेगमा पेनाल्टी सुटआउटमार्फत जित निकाल्दै फरेस्टले अन्तिम आठमा स्थान बनाएको हो ।

डेनमार्कको एम.सी.एच एरिनामा गए राति भएको खेलमा फरेस्टले मिड्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-शून्यले पराजित गरेको हो । पहिलो लेगमा घरेलु मैदानमा १-शून्यको हार बेहोरेको फरेस्टले दोस्रो लेगमा २-१ को जित निकाल्दै समग्रमा खेल २-२ को बराबरीमा पुर्‍याएको थियो ।

खेलको ४०औँ मिनेटमा निकोलस डोमिन्गुएजले उत्कृष्ट हेडर गोल गर्दै फरेस्टलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुआतमै, ५२औँ मिनेटमा कप्तान रायन येट्सले २५ यार्डको दूरीबाट उत्कृष्ट गोल गर्दै टिमलाई २-शून्यको अग्रता दिलाए । यद्यपि, ६९औँ मिनेटमा मिड्ल्यान्डका मार्टिन एर्लिकले गोल गरेपछि खेल अतिरिक्त समयतर्फ धकेलियो ।

अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट भयो । जहाँ मिड्ल्यान्डका चो गुए-सुङ, अराल सिमसर र एडवर्ड चिलुफ्या तीनै जना विफल भए । फरेस्टका लागि मोर्गन गिब्स-ह्वाइट, इब्राहिम सान्गारे र नेको विलियम्सले लगालग गोल गरे । जितसँगै नटिङ्घम फरेस्ट सन् १९९५-९६ पछि पहिलोपटक कुनै ठूलो युरोपेली प्रतियोगिताको क्वार्टरफाइनल पुग्न सफल भएको छ ।

युरोपेली फुटबल इतिहासमा पहिलो लेग घरेलु मैदानमा हारेर पनि नकआउट चरण पार गर्ने नटिङ्घम फरेस्ट एक मात्र इङ्लिस क्लबसमेत बनेको छ ।