
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट लेखन सुरू गरेको छ ।
बजेटको प्राविधिक तथा प्रक्रियागत काम अघि बढाइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बजेट क्यालेन्डरलाई स्वीकृति दिइसकेको छ, जसअनुसार जेठ १ सम्ममा पहिलो मस्यौदा तयार गर्ने, ६ गते राष्ट्रपतिलाई ब्रिफिङ गर्ने, १३ गते अन्तिम रूप दिने, १४ गते योजना आयोग र मन्त्रिपरिषद्मा ब्रिफिङ गर्ने र सोही दिन छपाइमा पठाउने तालिका तयार गरिएको छ ।
यस्तै, मन्त्रालयले राजस्व परामर्श समिति गठन गरेर सुझाव संकलन गरिरहेको छ । बजेट भाषणबाहेक आर्थिक सर्वेक्षण, सार्वजनिक संस्थानहरूको आम्दानी तथा खर्चको स्थिति, विनियोजन ऐन, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक ऐन सँगसँगै तयार हुन्छन्, यी काम पनि अघि बढिरहेका छन् ।
राजस्वका नीतिहरू भने सरकारले बजेट निर्माणको अन्तिम चरणमा मात्रै टुंगो लगाउनेछ । बजेट वक्तव्य लेखनकै लागि भने अहिले मन्त्रालयले अर्थमन्त्री कुरिरहेको छ । स्रोत अनुमान समितिले बजेटको सिलिङ पेस गरेपछि अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयहरूलाई सिलिङ पठाइसकेको छ ।
बजेट तर्जुमाका मार्गर्दशन समेत तयार गरी मन्त्रालयहरूलाई बजेट मागका लागि सिलिङ पठाइएको हो । मार्गदर्शन खर्चमा मितब्ययिता, नतिजामुखी विनियोजन र आयोजना बैंकमा राखेका आयोजनालाई मात्रै कार्यान्वयनमा लानका लागि बजेट माग गर्नुपर्ने गरी तयार गरिएको छ ।