
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठकको प्रारम्भमै सभापति पदबाट गगन थापाले दिएको राजीनामा पत्रमाथि छलफल हुने भएको छ ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार थापाको राजीनामाबारे छलफल गरेर टुंगोमा पुगिने भएको छ । आजको बैठकले राजीनामा अस्विकार गर्ने सम्भावना बढी छ ।
बिहीबारै उपसभापति विश्वप्रकाश शर्माले थापाको राजीनामा अस्विकार गर्ने संकेत दिइसक्नुभएको छ । बैठकमा उपसभापति शर्माले निर्वाचनको प्रारम्भिक समीक्षा, सभापतिको राजीनामा पत्र र राजीनामा अस्विकार गर्ने प्रस्ताव एकैसाथ पेस गर्ने तयारी छ ।
सभापतिले राजीनामा उपसभापतिलाई बुझाउनुपर्ने र उपसभापतिले केन्द्रीय कार्यसमिति बैठकमा त्यसलाई प्रस्तुत गर्नुपर्ने व्यवस्था पार्टी विधानमा छ । विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका कोही पनि छैनन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले धेरै अगाडिदेखि थापालाई भेटेर नै राजीनामा नदिन दबाब दिँदै आएका थिए ।
पार्टी र आफू स्वयंले निर्वाचनमा हार बेहोरेपछि सभापति थापाले राजीनामा दिने मनस्थिति बनाउनुभए पनि उपसभापति शर्माले नै थापाको राजीनामा रोक्दै आउनुभएको थियो ।