
काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका निर्वाचित सदस्यलाई सपथका लागि उपस्थित हुन सूचना जारी गरेको छ । सचिवालयले चैत १२ गते दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको सभाकक्षमा सपथका लागि उपस्थित हुन सूचना जारी गरेको हो ।
सपथ कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुईप्रति लिई आउन भनिएको छ । यस्तै निर्धारित समयभन्दा दुई घण्टाअगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थिति हुन पनि सचिवालयको अनुरोध छ ।
यस्तै नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा सपथ लिन चाहने सदस्यले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची-३ को ढाँचाबमोजिम सपथको व्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी तीन दिनअगावै सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा उपलब्ध गराउनुपर्नेछ ।
सचिवालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आआफ्ना जिल्लाका निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई यो सूचनाबारे जानकारी गराइदिनसमेत अनुरोध गरेको छ ।