
काठमाडौं । निर्वाचनपछि नयाँ सरकारको गठन बाँकी नै छ । तर, आगामी जेठ १५ मा सार्वजनिक गर्ने बजेट निर्माण भने अहिलेको सरकारले नै गरिरहेको छ ।
१९ खर्बको सीमामा रहेर बजेट निर्माणको काम अघि बढाइएको अर्थ मन्त्रालयले जनाएको छ । के अहिले गृहकार्य भइरहेको बजेटको अब बन्ने सरकारले नै स्वामित्व लिएर अघि बढाउला ? नयाँ सरकारले बजेट कति नयाँ बनाउन सक्छ त ?
निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपाले सरकार बनाउने भने पनि अर्थ मन्त्रालय कसले नेतृत्व गर्दैछ भन्ने टुंगो लागेको छैन । यद्यपि निर्वाचन गराउन गठन भएकै सरकारलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक रहने स्रोत अनुमान समितिले भने आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि करिब १८ खर्ब ९० अर्बको बजेट सिलिङ तोकेको छ ।
रास्वपाले ७ प्रतिशतको निरन्तर आर्थिक वृद्धि तथा १२ लाखलाई रोजगारी भनेका बेलामा स्रोत अनुमान समितिले भने ५ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशत मुद्रास्फीतिको लक्ष्य सुझाएको छ । अहिले नयाँ सरकार गठनसँगै आमजनताले सुशासनसँगै रोजगारीको अपेक्षा गरेका छन् ।
विज्ञहरू अहिले सरकारले नयाँ आयोजना निर्माण सुरू गर्नेभन्दा पनि त्यसको सम्भाव्यता अध्ययन गर्दै पुराना आयोजना निर्माण सम्पन्न गरेर अर्थतन्त्र लयमान फर्काउन बजेट केन्द्रित हुनुपर्ने सुझाव दिन्छन् । अर्थमन्त्रीले बजेट वक्तव्य मात्रै प्रस्तुत गर्ने होइन ।
बजेटका लागि स्रोत जुटाउने करसम्बन्धी आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि बजेट नै हो । साथै खर्च कहाँ कहाँ गर्ने भनेर बनाइएको व्यय विवरण पनि बजेटको महत्वपूर्ण अंश हो । अहिले बजेट वक्तव्यबाहेक अन्यको काम भइरहेको मन्त्रालय बताउँछ ।
अर्थमन्त्रालयले यसरी तयारी गरेको बजेटलाई नयाँ सरकार र नयाँ अर्थमन्त्रीले कसरी स्वामित्व लिन्छन् त ? अब आउने नेतृत्वले गर्न सक्ने भनेको कर तथा नीतिगत हेरफेर, नयाँ करका दर निर्धारणसँगै चालु खर्च घटाएर पुँजीगत खर्च बढाउने हो । स्रोत अनुमान समितिले आगामी वर्षका लागि पुँजीगत खर्च ४ खर्बभन्दा कम गर्न सुझाइएकाले चालु खर्च घटाएर ६ खर्बसम्म बढाउन सकिने विज्ञहरू बताउँछन् ।
निर्माणाधीन अवस्थामा रहेका बहुवर्षीय आयोजनामा बजेट राख्नुपर्ने अहिलेको सरकारको बाध्यता मात्रै हैन, त्यसलाई समयमा सक्नुपर्ने जिम्मेवारी पनि हो । अब नयाँ सरकारले टुक्रे आयोजना कटौती गर्दै विकास प्रशासन चुस्त गराउन सके त्यसले जनतामा रहेको निराशा मात्रै नभइ शिथिल रहेको अर्थतन्त्र चलायमान गराउन सक्छ ।