
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले अहिले बैंकिङ प्रणालीमा ठूलो परिमाणमा निक्षेप भए पनि कर्जा विस्तारको गति कमजोर रहेको बताउनुभएको छ ।
नागरिक लगानी कोषको ३६औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले हाल बैंकहरूसँग करिब ७७ खर्ब रूपैयाँ निक्षेप रहेको बताउनुभएको हो । अध्यक्ष कोइरालाले सो मध्येबाट बैंकहरूले ५८ खर्ब रूपैयाँ जति कर्जा प्रवाह गरेको जानकारी दिँदै पछिल्लो समय कर्जा प्रवाहको वृद्धि दर बढ्न नसकेको बताउनु भयो ।
कोइरालाले कर्जा सुस्तता आउनुको कारण भने खुलाउनु भएन । उहाँले बैंकिङ क्षेत्रमा विभिन्न प्रकारका चुनौतीहरू तमाम रहेको समेत बताउनु भयो । कोइरालाकाअनुसार कर्जा असुलीका लागि जाने क्रममा बैंकका कर्मचारीहरूले विभिन्न धम्की र दबाब सामना गर्नुपरेको छ ।
बैंकर्स संघले पनि यस विषयमा अझ सक्रिय भएर अघि बढ्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । उहाँकाअनुसार ऋण तिर्नु पर्दैन जस्ता भाष्य बनाउन खोजिएको बताउँदै यस्ता गतिविधि र गलत सन्देश फैलिन थालेमा भविष्यमा नेपालको अर्थतन्त्रका लागि राम्रो संकेत हुनेछैन ।