धानपछि मकैबाट समृद्धि : बुटवलका किसानको सफल खेती अभ्यास

चैत्र ४, २०८२ |अमृता अनमोल
धानपछि मकैबाट समृद्धि : बुटवलका किसानको सफल खेती अभ्यास

बुटवल । तपाईँकातिर बर्खे धान काटेर खाली रहेको खेतमा किसानले के गर्ने गरेका छन् ? 

बुटवलका किसान भने त्यही खेतमा २ देखि ३ सिजनमा मकै फलाउँछन् । व्यवसायिक मकै खेतीबाट सोचेभन्दा राम्रो आम्दानी गरेपछि उनीहरूको जीवनस्तरमा समेत सुधार आएको छ । धान काटेर बाँझो रहने बुटवलका यी खेतमा अहिले बाह्रै महिना मकै खेती हुन्छ । 

यौटै खेतमा कतै मकै उर्मदै र हुर्कदै छन् । कतै धान सुत्ला फाल्दै छन् । कतै मकैले घोगा हाल्दैछन् त कतै पाक्दैछन् मकैहरू । उत्पादन भएका मकै घरघरैबाट बिक्री हुने र नगद आम्दानी हुने भएपछि मकै किसान पनि निकै खुसी छन् । बुटवल उपमहानगरपालिकाको वडा नम्बर १४ र १९ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै पकेट क्षेत्र सञ्चालन भएको थियो । 

दुई वर्ष संघीय सरकारबाट सहयोग पाएका मकै किसानलाई गत वर्ष २०८१, ०८२ बाट बुटवल उपमहानगरपालिकाले मल, बीउ, बजारीकरणलगायत मकै खेती प्रविधिमा प्राविधिक सहयोग गरेर निरन्तरता दिएको छ । यसले किसानले सोचेभन्दा धेरै आम्दानी भएको किसानहरू बताउँछन् ।

बजारीकरणले खेतीयोग्य जग्गा मासिदै गएको बुटवलमा चार वर्षअघि ३० हेक्टर क्षत्रफलबाट मकै खेती सुरू भएको थियो । अहिले बुटवलको ९० हेक्टर क्षेत्रफलमा किसानले व्यवसायिक रूपमा मकै खेती गरेका छन् । यहाँका ४२ घरपरिवारका किसान मकै खेतीमा संलग्न छन् । 

बुटवलका मकै किसानले अहिले मकैका बेकरी आइटम समेत बनाउँछन् । मकै किसानलाई प्रोत्साहित गर्न बुटवल उपमहानगरपारपालिकाले मकैका बेकरी आइटम बनाउन सिकाएको हो । अझै पनि बुटवलमा मकै खेती गरिरहेका किसानका लागि सिँचाइ अभाव छ । यससँगै आधुनिक र यान्त्रीकरणको प्रयोग गर्न सकिएमा मकैबाट थप आम्दानी हुने किसानहरूको अनुभव छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।