
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला प्रशिक्षकहरूको सहभागिता बढाउन ऐतिहासिक निर्णय गरेको छ । फिफाले अबदेखि सबै महिला प्रतियोगिताहरूमा सहभागी हुने प्रत्येक टोलीमा कम्तीमा एक जना महिला मुख्य प्रशिक्षक वा सहायक प्रशिक्षक हुनुपर्ने नियम लागु गरेको छ ।
बिहीबार बसेको फिफा काउन्सिलको बैठकले स्वीकृत गरेको यो नयाँ नियमअनुसार, खेलको समयमा टोलीको बेन्चमा कम्तीमा दुई जना महिला कर्मचारी हुनुपर्नेछ, जसमा एक जना अनिवार्यरूपमा प्रशिक्षक वा सहायक प्रशिक्षक हुनुपर्ने प्रावधान छ । साथै, टोलीको मेडिकल स्टाफमा पनि कम्तीमा एक जना महिला सदस्य हुनुपर्ने नियम बनाइएको छ ।
यो नयाँ नियम यसै वर्ष सेप्टेम्बरमा पोल्यान्डमा हुने यू-२० महिला विश्वकपदेखि नै लागु हुनेछ । त्यसपछि मोरक्कोमा हुने यू-१७ महिला विश्वकप, महिला च्याम्पियन्स कप र सन् २०२७ मा ब्राजिलमा हुने महिला विश्वकपमा पनि यो नियम पूर्णरूपमा कार्यान्वयन गरिनेछ । फिफाका अनुसार महिला फुटबलको तीव्र विकास भइरहे पनि प्रशिक्षण क्षेत्रमा अझै पुरुषहरूकै बाहुल्य छ । तथ्यांकअनुसार सन् २०२३ को महिला विश्वकपमा सहभागी ३२ टोलीमध्ये केवल १२ टोलीमा मात्र महिला मुख्य प्रशिक्षक थिए ।
फिफाकी प्रमुख फुटबल अधिकारी जिल एलिसले हाल प्रशिक्षण क्षेत्रमा महिलाहरूको संख्या निकै कम रहेको स्विकार्दै, नयाँ नियमले महिला प्रशिक्षकहरूका लागि स्पष्ट मार्ग प्रशस्त गर्ने र उनीहरूको क्षमता प्रदर्शित हुने बताउनुभयो ।