काठमाडौं । विनियोजन विधेयकमाथिको मंगलबारको छलफलमा पनि मन्त्रीहरूले बजेटमा भएका कमीकमजोरीको बचाउ गरेका छन् । बजेट यथार्थपरक नभएको र देशका विद्यमान समस्या समाधान गर्न नसकेको भन्दै सांसदहरूले चर्को आलोचना गरे पनि मन्त्रीहरूले बजेट यथार्थपरक रहेको दाबी गरे ।
विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा सत्तापक्षकै सांसदहरूले बजेट सन्तुलित नभएको र पहुँचवालाले कब्जा गरेको भन्दै विरोध गरे । सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिकको उमेर बढाइएको, सरकारी नीतिविपरीत एक लाख रुपैयाँसम्मका योजना बजेटमा समावेश गरिएको भन्दै सांसदहरूले प्रश्न उठाएका थिए ।
सत्तारुढ सांसदले नै बजेटको आलोचना गर्दा अर्थमन्त्री विष्णु पौडेलले भने बजेट यथार्थपरक नै आएको दाबी दोहोर्याउनुभयो ।
बजेटमा आलोचित भएको शहरी विकास मन्त्रालयका ७ हजारभन्दा धेरै योजनामाथि धेरै सांसदले प्रश्न उठाए । जवाफमा शहरी विकासमन्त्री प्रकाशमान सिंहले आफ्ना पिता गणेशमान सिंहसहित राष्ट्रलाई योगदान गरेका व्यक्तिको सम्मानका लागि बजेट विनियोजन गरिएको तर्क गर्नुभयो ।
स्वदेशमा रोजगारी सिर्जना, वैदेशिक रोजगारीमा हुने गरेको ठगी लगायतका विषयमा पनि सांसदहरूले प्रश्न उठाए । जवाफमा श्रममन्त्री शरतसिंह भण्डारीले सीप विकास र आन्तरिक रोजगारीका कार्यक्रमलाई सँगसँगै लगिएको बताउनुभयो ।
सांसदहरूले उठाएका प्रश्नमा मन्त्रीहरूले चित्तबुझ्दो जवाफ दिन नसके पनि बहुमतका आधारमा विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।