जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिदै नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । उत्कृष्ट किसानलाई प्रोत्साहन गर्न पुरस्कृत गर्ने देखि रैथानी बाली उत्पादन क्षेत्रका आधारमा पकेट क्षेत्र बनाउने नीति हिमाले लिइएको छ । बजेट तर्जुमा समितिका संयोजक हिमा गाउँपालिका उपाध्यक्ष सुपुर्ना शाहीले कृषि क्षेत्रको विकास बिना अन्य क्षेत्रको विकास संभव नभएको बताउनुभयो ।
उहाँका अनुुसार पालिका भित्रका किसानहरु मध्ये सबैभन्दा बढि स्याउ उत्पादन गरेर बजार सम्म लैजाने किसानलाई प्रोत्साहन स्वरुप उत्कृष्ट कृर्षकका रुपमा पुरस्कृत गरिनेछ ।
अहिले किसान भन्ने वित्तिकै सबैभन्दा सानो पेसा गर्ने व्यक्तिका रुपमा हेर्ने चलन बसेको छ,उहाँले भन्नुभयो, ‘अब किसानहरु अन्नदाता हुन् । कृषि क्षेत्रको विकास बिना कुनै पनि विकास संभव हुदैन भन्ने सन्देश फैलाउन यो नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।’
आगामी आर्थिक बर्षमा अर्गानिक बाली संरक्षण अभियान चलाइने छ,उहाँले ‘यो अभियानमा अर्गानिक उत्पादनलाई जोड दिदैँ रासायनिक बिषादीको प्रयोगलाई निषेधित गरिने बताउनुभयो ।’हिमाले वडा नम्बर १ लाई मार्सीधान र तरकारी पकेट क्षेत्र, २ लाई आलु र लसुन पकेट क्षेत्र, ३ लाई स्याउ,ओखर,सिमी र फलफुल पकेट क्षेत्र,४ र ७ वडालाई गहुँ पकेट क्षेत्र,६ लाई मौरी पकेट क्षेत्र,५ वडालाइ भेडापालन,सिमी र स्याउको पकेट क्षेत्रका रुपमा विकसित गर्ने नीति लिइएको छ ।
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले गरिबीको रेखामुनी रहेका बेरोजगार युवाहरुलाई उत्पादनशिल कार्यक्रममा आवद्ध गराइ बजेटको व्यवस्थापन गर्ने निती लिइएको बताउनुभयो । उहाँका अनुुुसार हिमा २ ओदी गाउ“का किसानलाई व्यवसायिक लसुन खेतिका लागि उन्नत जातको लसुनको बिउ बाड्ने योजना छ ।
फलफुल विरुवा उत्पादनका लागि नर्सरी धनीलाई बेर्ना उत्पादन प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने,सिचाइ कुलो मर्मत तथा निर्माणको काम अघि बढाउने, २०७९ असोज १९ देखि २५ सम्म परेको बर्षाले क्षतिग्रस्त खेतियोग्य जमिनलाई बचाउन नदि नियन्त्रणको योजना लागु पर्ने,स्थानीय कोदो,फापर,जुम्ली मार्सी, ढटेलो जस्ता रैथाने बाली लगाउन किसानलाई प्रोत्साहित गर्न पनि हिमा सरकारले नीति लिइएको छ ।
यो संगै हिलोमुक्त गाउँहरु घोषणा गर्ने,पर्यटकीय स्थल रुपिछडा झरना पदमार्ग निर्माण गर्ने, उज्यालो हिमा र सुन्दर हिमा कार्यक्रम अघि बढाउने, जडिबुटी खेतिलाई प्रोत्साहित गर्ने,सुशासन र सुचनाको हकलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने,फोहोर मैला व्यवस्थापन गर्ने, कुरिती न्युनिकरणका लागि उपाध्यक्षसंग जनचेतनामुलक कार्यक्रम गर्ने, निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने नीति हिमाले लिएको छ ।
लोक देउडा,लोक संस्कृति,परम्परागत रितिथीति जगेर्ना गर्न साँस्कृतिक महोत्सव गर्ने,सार्वजनिक बस सेवा सञ्चालनमा ल्याउने, ५० देखि ५९ बर्ष सम्मका एकल पुरुषका लागि विदुर भत्ता उपलब्ध गराई सामाजिक सुरक्षाको प्रत्याभुति दिलाइने नीति पालिकाले लिएको छ । हिमाले ६९ बुदे नीति तथा कार्यक्रम र ४० करोड २ लाख ७५ हजारको बजेट सार्वजनिक गरेको छ ।