काठमाडौं । सरकारले विद्युतीय सवारी साधन आयातमा कडाइ गर्न ‘सवारी साधन आयात, उत्पादन, तथा जडान निर्देशिका, २०८२’ ल्याउने तयारी गरेको छ ।
विद्युतीय सवारी साधनको गुणस्तरमा प्रश्न उठ्न थालेपछि यातायात व्यवस्था विभागले निर्देशिका बनाएरै आयातमा कडाइ गर्न लागेको हो । विभागले तयार पारेको निर्देशिकाको मस्यौदामा सवारी आयातकर्ताको समेत मापदण्ड तोकिएको छ । आयातकर्ताले लगातार तीन वर्षसम्म तोकिएको मापदण्ड पूरा गर्न नसके आयात अनुमति नै रद्द हुने प्रावधान राखिएको छ ।
विद्युतीय सवारीका ब्याट्रीको न्यूनतम आयु ७ वर्ष वा ३ हजार चार्जिङ साइकल हुनुपर्ने, सुरक्षा फिचरको रूपमा थर्मल म्यानेजमेन्ट सिस्टम हुनुपर्ने, ब्याट्रीले हाइभोल्टेज परीक्षण, दबाब परीक्षण, तापमान, कम्पनसहित मेकानिकल झट्का परीक्षण पास गरेको रिपोर्ट पेश हुनुपर्ने लगायत व्यवस्था निर्देशिकामा गरिएको छ । त्यस्तै आयातकर्ताले विद्युतीय सवारीका पुर्जाहरू र प्राविधिक जनशक्तिको व्यवस्था समेत गर्नुपर्ने उल्लेख छ ।