काठमाडौै । कवि, साहित्यकार तथा प्राकृतिक चिकित्सक डा हरिप्रसाद पोखरेल मानसाग्निको पहिलो निबन्धकृति ‘चैतन्यबोध’ लोकार्पण भएको छ । प्रा. डा गोविन्दराज भट्टराईको प्रमुख अतिथ्य तथा प्रा.डा कुमारप्रसाद कोइराला, प्रा.डा हेमचन्द्र नेपाल, प्राडा लक्ष्मणप्रसाद गौतम, निबन्धकार मोमिलालगायतले निबन्ध कृति लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा भट्टराईले पूर्वीय दर्शन, वेद वेदाङलाई पठनीय निबन्धका रूपमा यस निबन्धसङ्ग्रहमा प्रस्तुत गरिएको बताउनु भयो । उहाँले यस कृतिले पूर्वीय चेतनालाई प्रकाशमा ल्याएकोमा खुसी व्यक्त गर्दै रसपूर्ण पुस्तक भएको उल्लेख गर्नु भयो ।
प्रा.डा हेमचन्द्र नेपालले कृतिमाथि पाठकीय मन्तव्य राख्दै निबन्धकृतिमा दार्शनिक निबन्धहरूको सँगालो भएको बताउनु भयो । यस कृतिमा वैचारिक शक्तिसहित सूक्तिमयता प्रशस्त रहेको चर्चा गर्नु भयो ।
प्रा. डा लक्ष्मणप्रसाद गौतमले यस कृतिका निबन्धहरूले आफूलाई चिन्न मद्दत पुर्याउने बताउनुभयो भने निबन्धकार मोमिलाले दर्शनको गहिराइसॅंगै निबन्धकलाको पनि सुन्दर संयोजन रहेको यस्ता कृतिहरू मानसाग्निबाट अझ सुन्दर ढङ्गले पाठकमाझ आइरहनुपर्नेमा जोड दिनुभयो।
उक्त अवसरमा प्रा. डा कुमारप्रसाद कोइरालाले पूर्वीय दर्शन अध्ययन गर्न चाहनेहरूका लागि एउटा उत्कृष्ट पुस्तक बजारमा आएको भन्दै कृतिमाथि आफ्नो धारणा राख्नुभयो ।
कृतिकार मानसाग्निले कविताबाहेक अरू लेख्दिन भन्दाभन्दै पनि निबन्धकार मोमिलाको सद्भाव र प्रेरणाले यो कृति आएको स्वीकार गर्नुभयो ।
मानसाग्निका कवितालगायत विभिन्न विधाका गरी चालीस बढी पुस्तकहरू प्रकाशित छन् । सार्वजनिक निबन्धकृति पेज टर्नर प्रालिले बजारमा ल्याएको हो ।