काठमाडौं । इजरायल-इरान युद्धमा अमेरिकासमेत सामेल भएपछि युद्ध झन् चर्कने आशंका विश्वभर गर्न थालिएको छ ।
इजरायल र इरान नेपालबाट झण्डै ४ हजार किलोमिटर टाढा रहे पनि यो युद्ध लम्बिँदै गए नेपालसमेत प्रभावित हुने देखिएको छ । विशेषगरी नेपालीको उपभोग क्षमता, रेमिट्यान्स र रोजगारीमा असर पर्ने सम्भावना छ । कस्तो पर्ला त नेपालमा इरान-इजरायल युद्धको असर ?
विश्व बजारको करिब ४० प्रतिशत कच्चा तेल ओपेक देशहरूले उत्पादन गर्ने गरेका छन् । त्यसमा इरानको हिस्सा ४ देखि ५ प्रतिशत छ । इरानसँग नेपालको व्यापारीक वा कूटनीतिक सम्बन्ध नरहे पनि भारतले इरानबाट कच्चा तेल ल्याउने हुादा त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने देखिन्छ ।
इजरायल र इरानबीच युद्ध चर्किएयता मात्रै कच्चा तेलको मूल्य प्रतिव्यारल १० डलरले बढिसकेको छ, जुन बढेर १ सय २० डलरसम्म पुग्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
त्यसमाथि अमेरिकाले गरेको आक्रमणपछि इरानले विश्वको २० प्रतिशत कच्चा तेलको ढुवानी हुने स्ट्रेट अफ हर्मुज बन्द गर्ने घोषणा गरेेको छ । इरानले यो निर्णय कार्यान्वयन गरे विश्वकै आपूर्ति शृंखलामा असर पर्ने छ । यस विषयमा नेपाल सरकार र निजी क्षेत्र जानकार भए पनि अहिलेसम्म पर्ख र हेरको अवस्थामै छन् ।
कच्चा तेलमात्रै होईन इरान-इजरायल युद्धमा खाडी मुलुक होमिने अवस्था आए लाखौं नेपालीको रोजगारी गुम्ने छ । जसको असर नेपालीको उपभोग, रेमिट्यान्स र रोजगारीमा पर्ने छ ।
त्यस्तै युरोप र एसिया जोड्ने मुख्य हवाई रूट खाडी भएको हुँदा युद्धको बढी असर नेपालको पर्यटनमा पर्ने देखिन्छ । युरोप र अमेरिकाबाट नेपाल भित्रिने पर्यटकले दुबई, दोहा र इस्तानबुललाई ट्रान्जिट बनाउने गरेका छन् । युद्धको प्रभावले अर्को रूट प्रयोग गर्दा लागत बढ्ने र नेपाल आउने पर्यटकमा पनि कमी आउने देखिन्छ ।