सहकारीका ऋण नतिर्नेका साक्षी बस्नेहरुको बैंक खाता रोक्का हुने

चैत्र ६, २०८१ |सुदिल पोखरेल
सहकारीका ऋण नतिर्नेका साक्षी बस्नेहरुको बैंक खाता रोक्का हुने

काठमाडौं । समस्याग्रस्त घोषित १९ वटा सहकारीमा अहिले ५४ हजार ५ सय ५५ जनाको ३८ अर्ब ९३ करोड रकम फसेको छ । तर, १३ हजार ७५ जना ऋणीले सहकारीबाट रकम लगेर तिरेका छैनन् । 

पटक-पटक ताकेता गर्दा पनि ऋण नउठेपछि सरकारले ७ हजार ऋणिको त बैंक खाता र अचल सम्पत्ति नै रोक्का गरेको छ । यसले ऋण फिर्ता हुने क्रम केही बढे पनि ठूला ऋणी भने अझै रकम तिर्न तयार देखिएका छैनन् । 

अब समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अब ऋणिको अचल सम्पत्ति जफत गर्नेदेखि उनीहरुका आफन्त र साक्षी बस्नेसम्मको सम्पत्ति छानबिन गरी पीडितको रकम फिर्ता गराउने तयारी गरेको छ ।

सरकारले अहिलेसम्म २२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेकामा ३ वटाका बचतकर्ताको मात्र रकम फिर्ता गरेको छ । १९ वटा सहकारीका बचतकर्ता आफ्नो रकम फिर्ता पाउन माग गर्दै कहिले सडक आन्दोलन त कहिले सरकारी निकायका ढोका-ढोका धाउँदै दबाब दिइरहेका छन् । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको रकम फिर्ता गर्न ऋणीहरुलाई बोलाएर पटक-पटक छलफल गरेको छ । तर, ऋण फिर्ता भएको छैन । अटेरी गर्ने ७ हजार ऋणीको त समितिले बैंक खाता मात्रै हैन, अचल सम्पत्ति नै रोक्का राखेको छ ।

 यति गर्दा पनि ऋण फिर्ता नगरेपछि अब साक्षी बस्नेको समेत बैंक खाता र सम्पत्ति रोक्का राख्ने निष्कर्षमा समिति पुगेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा ३९ अर्ब रकम दाबी परेकोमा अहिलेसम्म ८ हजार १ सय ५५ जनाको १ अर्ब ६७ करोड फिर्ता भएको छ । 

३८ अर्ब २५ करोड रकम तिर्न बााकी छ । यस्ता सहकारीबाट २३ अर्ब ६२ करोड ऋणको रुपमा गएको छ । बााकी रकम सहकारी सञ्चालकले अन्यत्रै परिचालन गरेको देखिएको छ । 

९ अर्ब रकम दाबी परेको शिवशिखर सहकारीमा २ अर्ब मात्रै ऋणको रुपमा गएको छ । जसमा रोयल भोग इन्टरप्राइजेजका नाममा २० करोड छ । सबैभन्दा ठूलो ऋण गएको यो कम्पनीका सञ्चालक भने केदारनाथ शर्मा हुन् । 

त्यस्तै दुर्गादेवी शिवाकोटीका नाममा गएको ६ करोड र सुनिलकुमार राजवंशीले लगेको २ करोड ऋण तिरेका छैनन् । कान्तिपुर सहकारीमा ७ अर्बको दाबी परेको छ । तर ऋणको रुपमा यो सहकारीबाट साढे तीन अर्ब लगानी भएको छ । जसको सबैभन्दा ठूलो ऋणी कान्तिपुर हस्पिटल हो । 

उसले ५४ करोड ८१ लाख रुपैयाा ऋण लगेको छ । त्यस्तै बहादुर तामाङले यही सहकारीबाट लगेको २० करोड ६९ लाख रकम फिर्ता भएको छैन । गौतमश्री सहकारीबाट बालकृष्ण महर्जनले १९ करोड, दिनेश महर्जनले १ करोड ६० लाख र सिद्धिरत्न महर्जनले १ करोड लगेर फिर्ता गरेका छैनन् । 

त्यस्तै नेपाल सहकारी वित्तीय संस्थाबाट लोकनाथ गौतमले लगेको ३ करोड र गौतम डंगोलले लगेको १ करोड ५० लाख तिर्न बााकी छ । यो सहकारीमा ४८ करोडको दाबी पर्दा ३२ करोड मात्रै ऋणका रुपमा गएको देखिन्छ ।

सहकारी समस्याग्रस्त घोषित भएपछि ब्याज नबढ्ने भएकाले ऋणीले नतिरी बस्ने गरेका हुन् । ऋण लगेर पनि तिर्न नखोज्नेहरुलाई थप ब्याज लाग्ने र उनीहरुको सम्पत्ति लिलामी मात्रै होइन, आफन्त र साक्षीको सम्पत्तिसमेत छानबिन गरेर पीडित बचतकर्ताको रकम फिर्ता गर्नेसम्मको योजना समितिले बनाएको छ ।

कान्तिपुर समाचारका लागि क्यामेरामा सञ्जय लुईंटेल र विनोद कोजूका साथ सुदिल पोखरेल, काठमाडौं ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement