धनगढीको सीप तथा रोजगार मेलामा पुरोहितदेखि कपाल काट्नेसम्मको तालिम

दक्ष जनशक्ति उत्पादन गरेर युवालाई स्वदेशमै रोजगारी दिने उद्देश्य
फाल्गुन २१, २०८१ |टेकराज जोशी
धनगढीको सीप तथा रोजगार मेलामा पुरोहितदेखि कपाल काट्नेसम्मको तालिम

कैलाली । धनगढीमा जारी सीप तथा रोजगार मेलामा युवाहरूको निकै आकर्षण देखिएको छ । पुरोहितदेखि कपाल काट्नेसम्मको तालिम लिन युवाहरू दत्तचित्त भएर लागेका छन् । धनगढी उपमहानगरपालिकाले गत फागुन ८ देखि आयोजना गरेको तालिममा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका एक हजार ४० युवा सहभागी छन् । ४० दिनको तालिमपछि उनीहरू दक्ष भएर कार्यक्षेत्रमा फर्किनेछन् ।

कोही पाठ गरिरहेका छन् त कोही भजनकीर्तनसँगै नाचगानमा व्यस्त छन् । झट्ट हेर्दा यो कसैको घरमा सत्यनारायणको पूजा भइरहेको भान पर्न सक्छ । तर धनगढी उपमहानगरपालिकाले खुलामञ्चमा आयोजना गरेको सीप तथा रोजगार मेलामा पुरोहित सिकाउनका लागि गरिएको पूजापाठको दृश्य हो यो । 

पछिल्लो समय पूजा अर्चना गर्ने पुरोहितको माग बढ्न थालेपछि यसको तालिम लिन र अभ्यास गर्न सीप तथा रोजगार मेलामा युवादेखि पाका उमेरसम्मका मानिस सहभागी छन् ।

सीप तथा रोजगार मेलामा बजारमा सबैभन्दा बढी माग भएका विषयमा तालिम प्रदान गरिएको छ । यहाँ सहभागीले मोबाइल तथा सीसीटीभी मर्मतदेखि एसी तथा रेफ्रिजेरेटर मर्मत, ग्राफिक्स डिजाइनिङ, डिजिटल मार्केटिङ, फेसन डिजाइनसम्मको तालिम लिइरहेका छन् । त्यस्तै एडभान्स टेलरिङ, हेयर कटिङ तथा स्टाइलिङ, एडभान्स ब्युटिसियन, प्लम्बिङ, वेल्डिङ, इलेक्टि्रक गाडी मर्मत, लेखा व्यवस्थापन तालिम पनि यहाँ दिइएको छ ।

यसैगरी सांस्कृतिक पोसाक निर्माण, बेतबाास क्राफ्ट, टायल तथा मार्बल फिक्स्चर, डकर्मी, मोटरसाइकल तथा स्कुटर मर्मत, रिसेप्सनिष्ट, वेटर, हाउस पेन्टिङ र फर्निचर तथा फास्टफुड कुकिङमा तालिम लिने युवा पनि धेरै छन् ।

४० दिनसम्म सञ्चालन हुने तालिममा ३० दिन विभिन्न विधामा सीपमूलक तालिम दिइने छ भने ५ दिन जीवनोपयोगी र उद्यमशीलता सम्बन्धी तालिम दिइने छ । यस्तै, दुई दिन रोजगारदाता र तालिमप्राप्त युवाबीच अन्तरक्रिया गरिने छ । तालिमका लागि तालिम मात्रै नभई दक्ष जनशक्ति उत्पादन गरेर युवालाई स्वदेशमै रोजगारी दिने मेला आयोजकको उद्देश्य छ ।

पछिल्लो समय दक्ष जनशक्तिको अभाव हुनुका साथै बेरोजगारी बढ्न थालेपछि धनगढी उपमहानगरपालिकाले सीप तथा रोजगार मेला आयोजना गरेको हो । आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने भएकाले मेला अवलोकन गर्न र आफूले सीप सिक्न आवश्यक रहेको विषयमा सुझाव लेखेर दिन उपमहानगरले आग्रह गरेको छ ।

विगतमा तालिम लिने नाममा तीन तहकै सरकारले ठूलो रकम खर्च गरे पनि त्यसको प्रभावकारिता खासै नदेखिएको गुनासो सुनिँदै आएको छ ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement