थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

जेष्ठ १९, २०८२ |खेल ब्युरो
थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । थाइल्यान्डको पथुम थानीको थम्मासत रंगशालामा नेपालले २-० गोलको हार बेहोरेको हो ।

खेलको १४ औं मिनेटमा थाइल्यान्डकी फथानन उपाइचाइको प्रहार गोलकिपर एन्जिला तुम्बापो सुब्बाले बचाएकी थिइन् । खेलको २० औं मिनेटमा फरवार्ड सावित्रा भण्डारीको प्रहार गोलकिपर पहिलो बारको नजिकैबाट बाहिरिनु नेपालको दुर्भाग्य बन्यो । २४ औं मिनेटमा पूजा रानाले क्लियर गर्न नसकेको बलमा थाई खेलाडी साओवालक पेङ्गमको लामो प्रहार गोलकिपरले बचाएकी थिइन् । 

पहिलो हाफको खेल गोलरहित बारबरीमा सकिएको थियो । दुवै टिमले कही अवसरको सिर्जना गरेको भए पनि गोल भएन । दोस्रो हाफको ५६ औं मिनेटमा प्लोएचोम्पोको प्रहार सोमबाटको प्रहार थाइल्यान्डका फरवार्डले भेट्न नसक्दा नेपाल गोल बेहोर्नबाट जोगिएको थियो । तर खेलको ५९ औं मिनेटमा मिडफिल्डर चट-तहवन रोडथोङले दोस्रो बारमा गोल गरेर थाइल्यान्डलाई अग्रता दिलाइन् । उनले फ्रिकिकमा सिधै गोल गरेकी हुन् । 

त्यसैगरी थाइल्यान्डले खेलको ७३ औं मिनेटमा ओपन प्लेमा गोल गर्‍यो । मलिवनले दिएको लामो पासमा फवार्ड जिरापोन मोङ्कोल्डीले वान टचमै गोल गरेर घरेलु टोलीको जितलाई २-० मा पुर्‍याएकी हुन् । यससँगै नेपालको एसियन कप छनोटको तयारी सम्पन्न भएको छ । नेपालले छनोटअघि अन्तिम अभ्यास खेल खेलेको हो । यसअघि थाइल्यान्डसँगको अभ्यास खेलमा पनि नेपाल पराजित भएको थियो ।