निर्णायक मोडमा आईपीएल : पहिलो पटक विजेता बन्ने लक्ष्यमा दुवै ‘फाइनलिस्ट’

जेष्ठ १९, २०८२ |खेल ब्युरो
निर्णायक मोडमा आईपीएल : पहिलो पटक विजेता बन्ने लक्ष्यमा दुवै ‘फाइनलिस्ट’

काठमाडौं । भारत-पाकिस्तानबीचको तनावका कारण केही समय स्थगित भए पनि अन्ततः इन्डियन प्रिमियर लिग आईपीएल २०२५ निर्णायक मोडमा पुगेको छ । प्रतियोगिताका ७३ खेल सकिँदा अब फाइनल मात्र बाँकी छ । 

जहाँ उपाधिका लागि पञ्जाब किङ्ग्स र रोयल च्यालेन्जर्स बैंगलुरु प्रतिस्पर्धा गर्दै छन् । आईपीएलको १८ वर्ष लामो इतिहासमा दुवै टोली पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छन् । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा भोलि हुने खेल उपाधिको होड मात्र नभई आत्मसम्मान र प्रतीक्षाको लडाइँ समेत हुने छ ।

आईपीएलको पहिलो सिजन युवराज सिंहको कप्तानीमा सेमिफाइनल पुगेको पञ्जाबलाई चेन्नई सुपर किङ्ग्सले ९ विकेटले पराजित भएपछि निराश भएको थियो । त्यसपछिका ५ सिजन लिग चरणमै बाहिरियो । २०१४ मा जर्ज बेलीको कप्तानीमा फाइनल पुगे पनि कोलकाता नाइट राइडर्ससँग ३ विकेटले पराजित हुन पुग्यो । त्यसपछि पञ्जाब पहिलो पटक फाइनल पुगेको हो । 

श्रेयस अय्यरको नेतृत्वमा पञ्जाब इतिहास रच्नबाट एक खेल टाढा छ । उनको कप्तानीले एक दशकसम्म निष्क्रिय देखिएको पञ्जाब अहिले सशक्त छ । श्रेयसले पछिला पाँच वर्षमा ३ फरक टिमलाई फाइनलसम्म पुर्‍याएका छन् । दिल्ली क्यापिटल्सलाई फाइनल पुर्‍याएका उनले कोलकाता नाइट राइडर्सलाई च्याम्पियन बनाए । यस पटक पञ्जाबका लागि दोस्रो क्वालिफायर्समा मुम्बई इन्डियन्सविरुद्ध उनले ८७ रनको अविस्मरणीय पारीसहित उपाधि नजिक पुर्‍याए ।

पहिलो क्वालिफायरमा आरसीबीसँग लज्जास्पद हार बेहोरेपछि उनले युद्ध हारेको नभई केवल एक लडाइँ मात्र हारेको टिप्पणी गरेका थिए । तर पञ्जाब अब अन्तिम युद्धका लागि तयार देखिन्छ ।

२०४ रनको लक्ष्य पछ्याउँदै मुम्बईलाई हराउनु, त्यो पनि बुमराहको पहिलो ओभरमै २० रन निकाल्दै, जसले आईपीएलको इतिहास नै उल्ट्याइ दिएको छ । बुमराहले आईपीएलमा पाँच वर्षपछि एकै ओभरमा २० रन खर्च गरे । मुम्बईले पहिलो पटक आईपीएलमा २ सय रनभन्दा माथिको योगफल रक्षा गर्न सकेन ।

दोस्रो क्वालिफायर्समा नेहाल बढेरा र श्रेयसबीचको साझेदारी, जोश इङ्ग्लिसको पावरप्लेमा आक्रामकता, र अन्तिम क्षणसम्म शान्त रहेर खेलिएको क्रिकेट यी सबैले पञ्जाबलाई फाइनलको यात्रा तय गरायो । युवा ओपनर प्रभसिमरन र प्रियांश आर्य जस्ता नवप्रतिभाले पूरै सिजन विपक्षीलाई दबाबमा राखे । प्रशिक्षक रिकी पोन्टिङको रणनीति र श्रेयसको संयमले टिममा नयाँ ऊर्जा भरेको छ ।

त्यसो त आरसीबी पनि कम छैन । विराट कोहलीको प्रेरणाले सिजिनका सबै अवे खेल जित्दै इतिहास रचेको आरसीबी अब चौथो पटक फाइनल खेल्दै छ । यसअघि २००९, २०११, र २०१६ मा उपविजेता बनेको टोलीले यस पटक उपाधिको खडेरी तोड्ने लक्ष्यमा छ । फिल सल्ट, जितेश शर्मा, रजत पाटीदार जस्ता खेलाडी लयमा छन् भने जोश हेजलवुडको आगमनले बलिङ युनिट सुदृढ बनेको छ ।

टिम डेभिडको चोट र मिडिल ओभरमा सुयश शर्मा-क्रुणाल पाण्डे कमजोर देखिए पनि, भुवनेश्वर कुमार र रोमारियो सेर्फडबाट टिमले धेरै अपेक्षा गरेको छ ।

पञ्जाब र आरसीबी आईपीएलमा हालसम्म ३६ पटक आमने-सामने हुँदा १८-१८ खेल जित्दै रोचक बराबरी गरेको स्थिति छ । तर यस सिजन आरसीबीले दुई भिडन्त जितेको छ । पहिलो क्वालिफायर्समा पञ्जाबविरुद्ध एकतर्फी जित हात पार्दा त्यसको मनोवैज्ञानिक असर दुवै टिममा रहने छ ।

मंगलबारको रात अहमदाबादमा उपाधि भिडन्त मात्र हुने छैन । कुनै एक टिमले पुराना पीडा र उपाधिको खडेरीलाई विजयोत्सवमा रूपान्तरण गर्नेछ । यो महाभिडन्तमा जुन टिमले कुशल रणनीतिसहित उत्कृष्ट क्रिकेट खेल्ने छ त्यसैले नै इतिहास रच्ने छ ।