काठमाडौं । नेपालमा सुन्तलाको राम्रो खेती हुने भएपनि पछिल्लो समय विदेशबाट आयात गर्नुपर्ने गरी परनिर्भरता बढ्दै गएको छ । वार्षिक झन्डै साढे १ अर्ब रुपैयाँको सुन्तला आयात हुने गरेको हो । विशिष्ट र मौलिक स्वादका कारण नेपाली सुन्तला विश्वमै चर्चित छ । तर नेपाली भने दक्षिण अफ्रिकादेखि भारतसम्मको सुन्तला उपभोग गर्न बाध्य छन् । नेपालमै पर्याप्त उत्पादन गर्न सकिने सुन्तला खेती किन ओझेलमा पर्यो त ?
नेपालमा पछिल्लो ६ महिनामा मात्रै ४७ करोड ७५ लाख रुपैयाँ बराबरको ६८ लाख ६४ हजार किलो सुन्तला आयात भएको छ । गतवर्ष १ अर्ब ४४ करोडको सुन्तला आयात भएको थियो । नेपालमा उत्पादित झन्डै ५ करोड केजी सुन्तला अपुग भएपछि आयातमा भर पर्नुपरेको हो । सबैभन्दा बढी सुन्तला उत्पादन हुने मध्यपहाडी क्षेत्रमा सिट्रस गिनिङ र जरा कुहिने रोगका कारण उत्पादन बढ्नुको सट्टा घट्दो छ ।
नेपालमा ६६ जिल्लामा सुन्तला खेती हुन्छ । ४८ जिल्लामा त व्यवसायिक खेती नै हुने गरेको छ । उत्पादन सम्भावना भएका कारण गतवर्ष सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको थियो । सुन्तला र सुन्तला जातका फलफूल उत्पादन बढाउन नियमित कार्यक्रमसँगै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट पनि सरकारले कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । सिन्धुली र स्याङ्जामा सुपरजोन र अन्य क्षेत्रमा १५ वटा जोन घोषणा गरिएको छ ।
सोलुखुम्बु, उदयपुर, गोरखा, म्यादी, धनकुटालगायतका जिल्लामा पनि उत्पादन वृद्धिका कार्यक्रम भइरहेका छन् । तर नेपाल कृषि अनुसन्धान परिषद्ले सुन्तलामा लाग्ने सिट्रस गिनिङ जस्ता रोगको उपचार गर्न सकेको छैन । यसले पनि उत्पादन घटेको छ । विज्ञहरुले उत्पादन र उत्पादकत्व बढाउँदै भरपर्दो कोल्ड स्टोरको समेत व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपालमा ४ हजार हेक्टरमा करिव पाँच करोड किलो सुन्तला उत्पादन हुने गरेको छ । नेपालमा उत्पादित सुन्तलाको माग चीन र बंगलादेश जस्ता मुलुकमा छ । तर घट्दो उत्पादन र बढ्दो माग भएपछि नेपालले सुन्तला निर्यात गर्नु त कता हो कता भारत, चीनदेखि दक्षिण अफ्रिकासम्मबाट आयात गर्नुपरेको छ ।