बेन्फिकाद्वारा ओकल्यान्ड सिटी विशाल अन्तरले पराजित

असार ७, २०८२ |खेल ब्युरो
बेन्फिकाद्वारा ओकल्यान्ड सिटी विशाल अन्तरले पराजित

काठमाडौं । पोर्चुगिज क्लब बेन्फिकाले शुक्रबार राति न्यूजिल्यान्डको सेमि प्रो क्लब ओकल्यान्ड सिटीलाई ६- ० को विशाल अन्तरले पराजित गरेको छ। 

क्लब विश्वकपको समूह सी अन्तर्गतको खेलमा लगातार दोस्रो खेलमा अपराजित रहँदै बेन्फिकाले नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको हो।

खेलको हाफटाइममा करिब २ घण्टा ९ मिनेट प्रतिकूल मौसम भएर खेल रोकिए पनि बेन्फिकाले उत्कृष्ट प्रदर्शन गरेको हो। पहिलो हाफको इन्जुरी समयमा एञ्जल डी मारियाले पेनाल्टीमार्फत् बेन्फिकालाई ब्रेकथ्रु दिलाए । 

पहिलो हाफमा अकल्यान्डका गोलरक्षक नाथन ग्यारोले सात उत्कृष्ट बचाउ गरे पनि डी मारिया गोलमा सफल भए। पहिलो हाफमा एक गोल मात्रै भए पनि दोस्रो हाफमा खेल पुनः सुरू भएपछि बेन्फिकाले गोल वर्षा नै गर्‍यो। 

५३औं मिनेटमा भाङ्गेलिस पाभ्लि-डिसले उत्कृष्ट प्रहार गर्दै गोल गरे। ६३औं मिनेटमा सब्स्टिच्युट रेनाटो सान्चेसले पहिलो टचमै लामो दूरीबाट गोल गरे । जुन ओकल्याण्डका म्याथ्यु एलिसबाट डिफ्लेक्सन हुँदै बल पोस्टभित्र पुगेको थियो। 

७६औं र ७८औं मिनेटमा लिआन्ड्रो बारेरोले लगातार दुई गोल गर्दै बेन्फिकालाई ६-० को सहज अग्रता दिलाए। खेलको अन्त्यमा डी मारियाले पुनः एकपटक आफ्नो उत्कृष्ट ड्रीबलमार्फत् अर्को पेनाल्टी जिते र त्यसलाई सजिलै गोलमा परिणत गरे। 

उनले क्लब विश्वकपमामा तीन गोल पूरा गरेका छन्। यो जितसँगै बेन्फिका समूह सी मा ४ अंकसहित दोस्रो स्थानमा छ। यसअघि बोका जुनियर्ससँग २-२ को बराबरी खेलेको बेन्फिकाको भेट अब अन्तिम खेलमा जर्मन पावरहाउस बायर्न म्युनिखसँग हुनेछ। 

बायर्नले अकल्यान्डलाई १०-० ले हराएको थियो। उता, लगातार दुई हार बेहोरेको अकल्यान्ड समूह चरणबाट आधिकारिक रूपमा बाहिरिएको छ। यस खेलमा अल्भारो कारेरासले आफ्नो दोस्रो पहेंलो कार्ड पाएका कारण आगामी खेलमा निलम्बित हुनेछन्।