लुम्बिनी । लुम्बिनी प्रदेशसभामा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल अनिश्चित बनेको छ ।
बजेट बनाउँदा मनोमानी भएको भन्दै सत्तारूढ दलहरूबाटै विरोध भएपछि असार ७ गतेदेखि हुने भनिएको बजेटमाथिको छलफल अनिश्चित बनेको हो ।
मुख्यमन्त्री कार्यालयबाटै आग्रह भएपछि लुम्बिनी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सभा सदस्यहरूलाई छनौट गर्न दिइएका योजनाहरू नपरेको, केही मन्त्रालयमा मात्रै बजेट थुपारिएको आरोप प्रदेशसभा सदस्यहरूको छ ।
मुख्यमन्त्रीकै दलका प्रदेशसभा सदस्यहरूले बजेट सर्वस्वीकार्य हुन नसकेको भनेर सामाजिक सञ्जालमा टिप्पणी गर्ने गरेका छन् । नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले विज्ञप्ती जारी गर्दै प्रदेश सभा बाहिर बजेट निमार्ण गरी मनोमानी गरेको आरोप लगाउनुभएको छ ।