क्लब विश्वकप : फ्लामेङ्गोकाे लगातार दोस्रो जित

असार ७, २०८२ |खेल ब्युरो
क्लब विश्वकप : फ्लामेङ्गोकाे लगातार दोस्रो जित

काठमाडौं । ब्राजिलको फ्लामेङ्गोले क्लब विश्वकप २०२५ अन्तर्गत समूह डीको खेलमा इंग्लिस क्लब चेल्सीलाई ३-१ ले हराउँदै लगातार दोस्रो जित हासिल गरेको छ। शुक्रबार राति भएको खेलको पहिलो हाफमा एक गोलले पछि परेको फ्लामेङ्गोले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित सुनिश्चित गर्‍यो।

खेलको सुरूवातमै चेल्सीका पेड्रो नेटोले गोल गर्दै इंग्लिस टिमलाई अग्रता दिलाएका थिए। त्यसपछि चेल्सीले लगातार राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा ऊ पछि पर्‍यो । दोस्रो हाफमा फ्लामेङ्गोले फरक रणनीतिमा मैदान फर्किँदै तीन उत्कृष्ट गोल गर्‍यो।

६२औं मिनेटमा ब्रुनो हेनरिकले बराबरी गोल फर्काए । ६५औं मिनेटमा ड्यानिलोले गोल गर्दै फ्लामेङ्गोलाई २-१ को अग्रता दिलाए। तर ६८औं मिनेटमा चेल्सीका फरवार्ड निकोलास ज्याक्सनले खतरनाक ट्याकल गरेपछि सिधै रातो कार्ड पाएर मैदान बाहिरिए। 

उनको रातो कार्ड चेल्सीका लागि समस्याको झन् ठूलो कारण बन्यो। १० खेलाडीमा समेटिएको अवस्थाको फाइदा उठाउँदै फ्लामेङ्गोले खेलको ८३औं मिनेटमा वालास यानको गोलमार्फत् जित सुनिश्चित गर्‍यो।

जितसँगै फ्लामेङ्गो समूह डी को शीर्ष स्थानमा छ। उसको दुई खेलमा ६ अंक भएको छ। चेल्सीले पहिलो खेल जिते पनि दोस्रो हारसँगै तीन अंकमा सीमित रह्यो। समूहमा आज बिहान भएको अर्को खेलमा एस्पेराँस डे ट्युनिसले लस एन्जलस फुटबल क्लबलाई १-० ले हराएको छ। यससँगै अफ्रिकी क्लबले पहिलो तीन अंक जोडेको छ।