करदाता सेवा कार्यालय खाँदबारीमा दर्ता २ सय ६५ जनाले मासिक विवरण बुझाएनन्, पान नम्बर निलम्बन

असार ६, २०८२ |दीपेन्द्र शाक्य
करदाता सेवा कार्यालय खाँदबारीमा दर्ता २ सय ६५ जनाले मासिक विवरण बुझाएनन्, पान नम्बर निलम्बन

संखुवासभा । आन्तरिक राजश्व कार्यालय धरानअन्तर्गत करदाता सेवा कार्यालय खाँदबारीमा दर्ता भएका मूल्य अभिवृद्धि कर-भ्याटमा आवद्ध करदातामध्ये २ सय ६५ जना निलम्बनमा परेका छन् । मासिक विवरण र भ्याट विवरण नबुझाएकाले उनीहरूको स्थायी लेखा नम्बर-प्यान निलम्बन गरिएको हो ।

जेठ ९ गते आन्तरिक राजश्व कार्यालय धरानले सार्वजनिक सूचना जारी गरी खाँदबारी क्षेत्रमा दर्ता भएका २ सय ६५ जना करदाताको प्यान निलम्बन गरेको जनाएको छ । 

करदाताहरूलाई पटक-पटक पत्राचार तथा सूचना गर्दा अटेर र बेवास्ता गरेपछि उनीहरूको प्यान निलम्बन गरिएको करदाता सेवा कार्यालय खाँदबारीले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालयले ६ महिनादेखि लगातार भ्याट विवरण नबुझाएका करदातालाई निलम्बन गरेको हो । करदातालाई करको विवरण पेस गर्नुपर्छ भन्ने ज्ञान भएर पनि बेवास्ता गर्दा निलम्बनमा परेको व्यापारीको भनाइ छ । 

जिल्लामा रहेका व्यवसायीहरूको संस्थाले कर कार्यालयको समन्वयमा धेरैपटक व्यवसायीलाई कर शिक्षा पनि दिँदै आएको छ । प्यान निलम्बन भएपछि ती करदाताहरूले बैंकिङ सेवा, आर्थिक कारोबार, सरकारी टेन्डर वा कारोबार अनुमति लिनसक्ने छैनन् । कर विवरण बुझाएर बाँकी रकम तिरेपछि प्यान फेरि सक्रिय हुन्छ ।

संघीय आयकर ऐन, २०५८ को प्रावधानअनुसार करदाताहरूले प्रत्येक वर्ष आफ्नो आम्दानी विवरण सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ । तर पटकपटक सूचना दिंदा पनि विवरण नबुझाउने र कर नतिर्ने करदाताको कर कार्यालयले प्यान निलम्बन गरिदिएको हो । 

कर प्रशासनले सबै करदातालाई समयमै कर विवरण बुझाउन आहृवान गर्दै, प्यान निलम्बन हुन नदिन सचेत हुन अनुरोध गरेको छ । संखुवासभामा ७ सय ३३ जना व्यवसायी भ्याटमा आवद्ध छन् भने २५ हजार ८३५ व्यवसायी कर कार्यालयमा दर्ता भएका छन् ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।