योग नेपालको मौलिक, सांस्कृतिक र प्रयोगात्मक सम्पतीः संस्कृतिमन्त्री पाण्डे

असार ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
योग नेपालको मौलिक, सांस्कृतिक र प्रयोगात्मक सम्पतीः संस्कृतिमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले योग नेपालको मौलिक, सांस्कृतिक र प्रयोगात्मक सम्पती भएको बताउनुभएको छ ।

शनिबार ललितपुरमा ११औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले योगको माध्यमबाट व्यक्ति, परिवार, समाज र संस्थासँग जोड्दै यी सबैलाई राष्ट्रिय भावमा एकतावद्ध गरी राष्ट्रिय एकता र आपसी भाईचारा बढाउन समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अभ्यास गरी प्राप्त हुँदै आएको योग सम्बन्धी ज्ञान, सोको अभ्यासमार्फत् सबै मानिसका लागि उपयोगी योगका विभिन्न विधिहरू आफ्नै भूमिबाट विकास हुँदै क्रमशः विश्वस्तरमा फैलिएको उहाँले बताउनु भयो । 

योगको समुचित उपयोगबाट नै हाम्र काम, कर्तव्य र व्यवहारमा सुधार गरी व्यक्तिको सिर्जनशिलता र नवप्रवर्तनमा समेत थप योगदान गर्न सकिने उहाँले बताउनु भयो । उहाँले योगको माध्यमबाट स्वस्थ, शान्त र अनुशासित नागरिक विकास गर्न र यसकै माध्यमबाट स्वस्थ एवं सभ्य समाज निर्माण गर्न सकिने उल्लेख गर्नुभयो । 

योगको क्षेत्रमा भएका प्रयोग र सकारात्मक कदमलाई समय सापेक्ष सुधार गरी व्यक्तिको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने उहाँकाे भनाइ छ । मन्त्री पाण्डेले योग मानवका लागि जीवन उपयोगी रहेको बताउनु भयो । 

योगका माध्यमबाट व्यक्तिको शारीरिक, मानसिक, मनोवैज्ञानिक, भावनात्मक विकासको मार्ग प्रशस्त हुने जिकिर गर्नुभयो । उहाँले योगले शरीर, मन, भावना र चेतनालाई जोड्ने बताउनु भयो । सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग भन्ने आदर्श वाक्यसहित अन्त्र्राष्ट्रिय योग दिवस मनाइरहिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.