वीरगञ्ज । पाँच वर्षअघिदेखि पहिलो पाइपलाइनबाट डिजेल आयात गरिरहेको नेपाल आयल निगमले अबको एक महिनाभित्र पाइपलाइनबाटै भारतबाट पेट्रोल र मट्टीतेल पनि आयात गर्ने तयारी गरेको छ । सन् २०२२ देखि निर्माण थालेको निमगले सन् २०२५ को जनवरीदेखि पाइपबाट पेट्रोल र मट्टीतेलको नियमति आयात गर्ने जनाएको हो ।
सन २०२२ देखि काम सुरु गरी २०२४ को जनवरीदेखि नै पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयत गर्ने लक्ष्य लिएको आयल निगमको दोश्रो चरणको पाइपलाइन निर्माणमा भएको ढिलाइले मार्चसम्मको म्याद बढाएको थियो। तर निगमको यो लक्ष्य प्राविधिक कारणले डिसेम्बरसम्म लम्बियो । हाल ९६ प्रतिशत काम सम्पन्न भइसकेको छ । ट्याङकी निर्माणलगायतका सबै काम भैसकेको र २०२५ को जनवरीभित्रै यो पाइपबाट पेट्रोल र मट्टीतेल नियमित आयातको तयारी भइरहेको निगमले जनाएको छ ।
भारतको रक्सौल र बरौनी डिपोबाट ट्यांकरमार्फत इन्धन आयात गर्दै आएको निगमले आयातलाई सहज र मितव्ययी बनाउन पाँच वर्षअघि २०७६ भदौ २४ गतेदेखि पहिलो चरणमा पाइपलाइनबाट डिजेल आयातको शुरुवात गर्यो । दोश्रो चरणमा सोही पाइपबाट पेट्रोल र मट्टीतेल आयात गर्ने लक्ष्यका साथ सन् २०२२ देखि निर्माण थालनी गरिएकोमा निर्माण कम्पनीको ढिलासुस्तीले अझै एक महिना कुर्नुपर्ने भएको छ । परीक्षणका लागि पाइपबाट एक चरण पेट्रोल र मट्टतिेल आयातसमेत गरिसकेको छ । त्यस क्रममा करीब पाँच हजार पाँच सय किलोलिटर पेट्रोल र एक हजार किलो लिटर मट्टीतेल आयात भएको छ ।
दुई अर्ब ७५ करोड भारतीय रुपैयाँमा निर्माण भइरहेको यो परियोजनामा भारतले दुई अर्ब र नेपालले ७५ करोड भारतीय रुपैयाँ लगानी गर्नुपर्ने र पाइपलाइनबाट आउने इन्धन भण्डारणका लागि आवश्यक जग्गाको व्यवस्थापन आयल निगमले गर्नुपर्ने सम्झौता थियो । परियोजनाको दोश्रो चरणको काम अहिले भइरहेको हो । अमलेगन्जस्थित आयल निगमको प्रादेशिक डिपोभित्र चार हजार एक सय किलोलिटरका दुई ट्यांक, दुई सय ५० किलोलिटरका दुईवटा ट्रान्समिक्स ट्यांकसँगै २४ वटा अटो लोडिङवे, पम्प हाउस, अत्याधुनिक प्रयोगशाला, अग्नि नियन्त्रण प्रणाली, आयल वाटर सेपेरेटर र पिएमसिसी रुमहरुको निर्माण भइरहेको छ । केही साना कामबाहेक अरु सबै काम सम्पन्न भइसकेको छ ।