भैरहवामा अन्तर्राष्ट्रिय उडानको माग गर्दै विमानस्थलअगाडि रुपन्देहीका व्यवसायीको प्रदर्शन

वैशाख २४, २०८२ |भुवन पाण्डे
भैरहवामा अन्तर्राष्ट्रिय उडानको माग गर्दै विमानस्थलअगाडि रुपन्देहीका व्यवसायीको प्रदर्शन

रुपन्देही । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै रुपन्देहीका व्यवसायीहरूले आज विमानस्थलको गेट अगाडि प्रदर्शन गरेका छन् ।

चेम्बर अफ कमर्स रुपन्देहीको नेतृत्वमा विभिन्न संघसंस्थाले विमानस्थलको मुख्य गेटमा एक घण्टा धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै व्यवसायी संघसंस्थाका अगुवाहरूले अन्तर्राष्ट्रिय उडान नियमित सुरु नगरे आन्तरिक उडान बन्द गराउनेदेखि सम्बन्धित मन्त्रीहरूको बहिष्कारदेखि काठमाडौंमा पुगेर मन्त्रालय घेराउसम्मको कार्यक्रम गर्ने चेतावनी पनि दिए ।

उनीहरूले रुपन्देहीका सबै व्यवसायिक संस्थाहरूले एकीकृत आन्दोलन गरेर सरकारलाई माग पूरा गर्न दबाब दिनुपर्नेमा जोड दिएका छन् । विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा व्यवसायीहरूले पटक–पटक आन्दोलन गर्दै आएका छन् ।

व्यावसायिक संघ–संस्थाहरूले प्रधानमन्त्री, विभागीय मन्त्री, प्रमुख दलका नेताहरूलाई ज्ञापनपत्र बुझाउनुका साथै सडक प्रदर्शन गरे पनि अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन सकेको छैन ।

गत वर्ष कात्तिकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि आंशिक बन्द भएपछि जजिरा एयरवेज, फ्लाई दुबई, थाई एयर एसिया र नेपाल एयरलाइन्सले एक महिना जति उडान गरेका थिए । तर, भिजिबिलिटीको समस्या देखाउँदै उडान स्थगित गरेका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आरएनपीएआर प्रविधि लागू गरेपछि करिब एक महिना अन्तर्राष्ट्रिय उडान पुनः सुरु भए पनि त्रिभुवन विमानस्थल मर्मत सकिएपछि चैत १६ देखि भैरहवाबाट पुनः उडान बन्द भएको छ ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।