ज्वेरेभ इटालियन ओपनको तेस्रो चरणमा प्रवेश

वैशाख २७, २०८२ |खेल ब्युरो
ज्वेरेभ इटालियन ओपनको तेस्रो चरणमा प्रवेश

काठमाडौं । विश्व वरीयताको दोस्रो नम्बरमा रहेका अलेक्जेन्डर ज्वेरेभ इटालियन ओपन टेनिस प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेका छन। शुक्रबार राति भएको दोस्रो चरणको खेलमा ज्वेरेभले अर्जेन्टिनाका क्यामिलो उगो काराबेलीलाई सोझो सेटमा हराएका हुन्।

ज्वेरेभले पहिलो सेट ६-२ ले जितेका थिए। उनले दोस्रो सेटमा सोभन्दा फराकिलो जित हासिल गरेका थिए। सो सेटमा उनले काराबेलीलाई ६-१ ले पराजित गरे। तीन पटक ग्रान्ड स्ल्यामको फाइनल खेलेका ज्वेरेभले रोममा जारी क्ले कोर्ट मास्टर्स एक हजार प्रतियोगिताको उपाधि रक्षा अभियानमा शानदार सुरूवात गरेका हुन्। 

उनले १० मध्ये ६ ब्रेक प्वाइन्ट सफलतापूर्वक बचाए। अब उनले चौथो चरणको स्थान पक्का गर्न लिथुनियाका क्वालिफायर भिलिउस गौबाससँग प्रतिस्पर्धा गर्नेछन्। पाँचौं वरीयता प्राप्त ब्रिटिस खेलाडी ज्याक ड्रेपरले पनि घरेलु खेलाडी लुसियानो डार्डेरीलाई ६-१, ६-४ ले हराउँदै तेस्रो चरणमा स्थान बनाएका छन। 

इटालीका खेलाडीहरूले घरेलु दर्शकलाई उत्साहित बनाउने खेल प्रदर्शन गरे। विश्व नम्बर नौं लोरेन्जो मुसेत्तीले फिनल्याण्डका ओट्टो भिर्टानेनलाई ६-३, ६-२ ले हराउँदै तेस्रो चरणमा स्थान बनाए। 

त्यसैगरी, होल्गर रुन र आर्थर फिल्स पनि तेस्रो चरणमा पुगेका छन। नवौं वरीयता प्राप्त रुनले अर्जेन्टिनाका फ्रान्सिस्को कोमेसानालाई तीन घण्टा लामो संघर्षपछि ३-६, ६-३, ६-४ ले हराएका थिए।